चितवन- चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ भने पहिलो भागको गणना भने सकिएको हाे ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिलो भागको गणना सकेर क्यामेरा उठाउने काम सुरु गरिएको छ । उनले भने, “शनिबारदेखि क्यामेरा उठाउने काम सुरु भएको छ । सोमबारसम्ममा पहिलो भागको क्यामेरा उठाउने काम सम्पन्न हुन्छ ।” उनका अनुसार यही पुस १ र २ गते तालिम दिएका १५० जना गणकहरू गणनामा खटिएका छन् ।
त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको सूचना अधिकारी मगरले जानकारी दिए । उनका अनुसार पहिलो भागअन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिएको छ । क्यामेरा उठाएपछि दोस्रो भागमा क्यामेरा जडान गरी गणना सुरु गरिने छ ।
दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरू खटिने निकुञ्जका सूचना अधिकारी मगरले बताए । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिने छ ।
“सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिने छ”, उनले भने, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।” थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ ।
चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।
तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले उल्लेख गरे । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभाग पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरिएको उहाँले जानकारी दिए ।
गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिए । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उनले भने ।
बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए । उनका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । “पहिलो कम्प्लेक्स (क्षेत्र) यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यो एउटै ब्लक बनाइने छ”, उनले भने ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेका तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।