सिड्नी- अस्ट्रेलियाको सरकारी अभिलेखमा क्लेयरसमक्ष नेपाली आदिवासी जनजातिको मातृभाषालाई पनि समेट्न माग गरिएको छ। अस्ट्रेलियाका संघीय शिक्षामन्त्री जेसन क्लेयरलाई नेपाली आदिवासी जनजातिको मातृभाषालाई अस्ट्रेलियाको सरकारी अभिलेखमा समावेश माग गरिएको हो।
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नेतृत्वमा हालै उक्त ज्ञापनपत्र पेश गरिएको हो। ज्ञापनपत्रमार्फत अस्ट्रेलियाको सरकारी सेवा तथा प्रशासनिक प्रणालीमा नागरिकले आफ्नो मातृभाषालाई पनि आधिकारिक रूपमा छनोट गर्न पाउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ। यस पहलले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली आदिवासी जनजातिको भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका अध्यक्ष अविरल तामाङ, नेसनल इन्डिजेनस नेसनलिटीज फेडेरेसन अस्ट्रेलिया NINFA तथा तामाङ सोसाइटी अफ NSW का संस्थापक गणेश तामाङ, साथै NINFA का सल्लाहकार चित्र तुम्बाहाङ्फे को उपस्थिति रहेको थियो। सिड्नीको बैंकस्टाउनस्थित संघीय शिक्षा मन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न नेपाली आदिवासी जनजातीय संस्थाका प्रतिनिधिहरूद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ज्ञापनपत्र मन्त्रीसमक्ष हस्तान्तरण गरिएको हो।
ज्ञापनपत्र ग्रहण गर्दै शिक्षामन्त्री क्लेयरले नेपाली आदिवासी जनजातीय समुदायको मागप्रति आफू सकारात्मक रहेको उल्लेख गरे। उनले समुदायका लागि महत्वपूर्ण विषयलाई आफ्नो ध्यानाकर्षण गराएकोमा धन्यवादसमेत दिए। क्लेयरले सम्बन्धित निकायसँग आवश्यक छलफल गरी यस विषयलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सले आगामी दिनमा पनि अस्ट्रेलियामा बसोबास गर्ने नेपाली आदिवासी जनजातीय समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धनका लागि सम्बन्धित सरकारी निकाय तथा समुदायसँग सहकार्य गर्दै निरन्तर पहल गरिरहने अध्यक्ष अविरल तामाङले बताए।