चितवन- पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुंगे पुल निर्माण भएको तीन वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने भएकाले पुल सञ्चालनमा आउन नसकेको हो ।
विसं २०७० सालको असार ३० गते नेपाली भू-भाग हुँदै सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो । दुई वर्षमा निर्माण सक्नेगरी सम्झौता गरिए पनि पुल निर्माणको काम सक्न नौ वर्ष लागेको थियो । मूल्य अभिबृद्धि कर बाहेक पाँच करोड १९ लाख ६६ हजार ७१३ रुपैयाँको लागतमा ४७९ मिटर लामो झोलुंगे पुल तयार भएको हो । विसं २०७९ असार असान्तमा निर्माण कम्पनीले काम सम्पन्न गरेपनि नदी तरेपछि जङ्गलै जङ्गल आश्रमसम्म पुग्न करिब तीन किलोमिटर बाटो पार गर्नुपर्छ । राम्रो बाटो बन्न नसकेको जनाउँदै पुलको मुखमा जाली लगाएर बन्द गरेपछि डुंगा चढेर जानु पर्ने बाध्यता रहेको छ ।
विनयी त्रिवेणी गाउँपालिका-६ का वडा अध्यक्ष नुरेन्द्र साहले पुल नचल्दा भारतीय भू-भाग हुँदै वा नदीमा डुंगा चढेर वाल्मीकि आश्रम पुग्नु पर्ने बाध्यता रहेको बताए । पुल बनेको लामो समय हुँदा पनि सञ्चालनमा नआएपछि आफूले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पत्राचार गरी माघ १ गतेबाट सञ्चालन ल्याइदिन आवश्यक सहजीकरणका लागि आग्रह गरेको बताए ।
त्रिवेणीकै होटल व्यवसायी सन्दीप गुप्ताले त्रिवेणी आउने धार्मिक पर्यटक वाल्मीकि जान चाहेर पनि बाटोका कारण नसकेको बताए । उनका अनुसार माघे सङ्क्रान्ति, माघे औसी, शिवरात्री, ठूलो एकादशीलगायतका पर्वमा त्रिवेणी आउने भक्तजन वाल्मीकि जान चाहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जभित्रको वाल्मीकि जाने बाटो निर्माणका लागि वागमती प्रदेश सरकारले गत वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भएपनि जेसिवीलगायतका उपकरण लैजान नपाएपछि श्रमजानबाट काम गरिएको थियो । यस वर्षको वर्षातमा बाटो बिग्रिएपछि पुनःसडक मर्मतको काम भइरहेको गुप्ताले जानकारी दिए । अहिले पनि डुंगा तरेर जङ्गलको बाटो हिँडेर भक्तजन जाने आउने गरेका छन् । गुप्ताले केहिदिन अघि १२० जना विद्यार्थीलाई डुंगा चढाएर जङ्गलको बाटो हुँदै आश्रम पु¥याएर ल्याएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वाल्मीकि आश्रमसम्म जाने बाटो राम्रो बनेपछि पुल सञ्चालनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अनुमति लिईने जानकारी दिए । उनका अनुसार बाटोको अवस्था निकै जीर्ण रहेको छ । उनले भने “बाटो बनेपछि हामी अनुमतिका लागि विभागमा पत्राचार गर्नेछौँ । यसको आफ्नै प्रक्रिया छ ।”
निकुञ्जलाई असर नपर्ने गरी बाटो सञ्चालन गर्नुपर्ने भएकाले तत्काल निर्णय गर्न कठिन हुने उनको भनाइ छ । पन्तले भविष्यमा धार्मिक महत्वको क्षेत्रलाई निकुञ्जभित्रकै एउटा अङ्ग मानेर वा नेपाल सरकारकै छुट्टै संयन्त्र बनाइ गुरूयोजनाअनुरूप व्यवस्थापन गर्ने विषयमा छलफल हुनसक्ने बताए ।
प्रमुख संरक्षण अधिकृत पन्तले गोरेटो बनाउने विकल्पमा जाँदा तीन किलोमिटर वन क्षेत्रमा सुरक्षा चुनौती हुनसक्ने भन्दै फोहोर व्यवस्थापनका जटिलता पनि आउन सक्छन् भने ।यता माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले भने निकुञ्जभित्रको बाटो हिँडडुल गर्न सकिने बताए । वाल्मीकि आश्रम माडी नगरपालिका-१ मा पर्दछ । तीन महिना अघि आफू सोही बाटो हिँडेर गएर कार्यपालिकाको बैठक गरेर फर्किएको भन्दै उनले पुल सञ्चालनमा आएमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
माडी नगरपालिका-१ को छेउमा आश्रम पर्छ । बीचमा ठूलो भू-भाग चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भएकाले माडीबाट सीधा यहाँ पुग्ने सडक छैन । यो क्षेत्रसँग नवलपरासी (बर्दघाट-सुस्तापूर्वको) विनय त्रिवेणी गाउँपालिका जोडिएको छ । नवलपरासीको बाटो (पूर्व-पश्चिम राजमार्ग) बर्दघाटबाट दक्षिण लागेपछि विनय त्रिवेणी-६ त्रिवेणीधाम पुगिन्छ । त्यहाँबाट नारायणी नदी पार गरी आश्रम पुगिन्छ ।
गाडीमा जाँदा गण्डक पुलदेखि वाल्मीकि टाइटर रिजर्वको करिब आठ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ । त्यहाँसम्म पुग्न ठाउँठाउँमा भारतीय सुरक्षा बलको सुरक्षा जाँच हुन्छ । पुल निर्माणमा लाग्नु भएका पूर्वसचिव आत्मराम पाण्डे यथासक्य चाँडो पुल सञ्चालन भएमा धार्मिक पर्यटन र स्थानीय वासिन्दा लाभान्वित हुने बताउँछन् । विसं २०४४ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा उपसचिव पदमा कार्यरत रहँदाबाटै उहाँले वाल्मीकि आश्रमलाई व्यवस्थित बनाउने सपना देखेको बताए ।
शिलान्यास भए पनि गण्डक बाँधको नजिकै भएका कारण झोलुंगे पुल निर्माण भारतले अबरोध खोजेको थियो । पाण्डेले तत्कालीन भारतीय राजदूत रञ्जित रेसँगको सम्बन्धको उपयोग गरी पुल निर्माणमा बाधा नपर्नेगरी सहमति गरेर काम गरेको बताए । उनले बाटो मर्मतसँगै यथासक्य छिटो पुल सञ्चालनका लागि सरोकारवाला निकायसँग आग्रह गरे । उनले भने, “नेपालीले आफ्नै भूमिको प्रयोग गरेर वाल्मीकि आश्रम पुग्न सकेको दिन मेरो लागि सबैभन्दा खुसीको दिन हुनेछ ।” यसले वाल्मीकि पुग्ने धार्मिक पर्यटक बढाउने उनको भनाइ छ ।