नारायणगढ- रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका-टिकौली चौरमा रत्ननगर महोत्सव-२०८२ आयोजना हुने भएको छ । लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २५ देखि आगामी माघ ६ गतेसम्म सञ्चालन हुने भएकाे हाे ।
स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने लक्ष्यसहित सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । आज रत्ननगरको सौराहामा आयोजित पत्रकार सम्मेलनमा हरेक दुई-दुई वर्षमा आयोजना हुँदै आएको रत्ननगर महोत्सवको १३औँ संस्करण स्थानीय आर्थिक गतिविधि बढाउन महत्वपूर्ण हुने आयोजकले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर गिरीले महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिसहित राष्ट्रिय, अन्तरराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब २५० स्टल रहने जानकारी दिए । चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र र २५ करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको उनले बताए ।
कृषि उपजलाई प्राथमिकतामा राख्दै कृषि प्रदर्शनी, रैथाने बालीको प्रोत्साहन तथा बजारीकरणमा विशेष जोड दिइएको गिरीले जानकारी दिए। ‘बिर्सनु हुँदैन बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत स्वाद’ भन्ने मूल नारासहित विभिन्न जातजातिका परम्परागत घर तथा संस्कृतिको झल्को दिने संरचना निर्माण गरिने उनले बताए ।
संयोजक गिरीका अनुसार महोत्सवका अवसरमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव-२०८२’ आयोजना गरिनेछ । साथै महको छुट्टै परिसर रहने महोत्सवमा ‘दोस्रो चितवन मह उत्सव-२०८२’ पनि समावेश गरिने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ चितवन मौरी जोनको समन्वयमा महको उपयोग, जनचेतना र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले महको प्रवर्द्धन गरिने गिरीले बताए ।
“हाम्रो स्थानीय उत्पादन मह पौष्टिक आहारले भरिपूर्ण र गुणस्तरीय खाद्य पदार्थ हो, मानिसदेखि पशुपन्छीसम्म पोषणयुक्त आहारका रूपमा प्रयोग गर्न सकिने भएकाले महको उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले यसलाई प्राथमिकता दिँदै मह उत्सव आयोजना गर्न लागेका हौँ”, उनले भने ।
महोत्सवमा रोजगार मेला, जनकपुरको रामजानकी गेटको झल्को तथा अन्य विभिन्न आकर्षण पनि समावेश गरिनेछ । सौराह प्रवेशद्वार नजिकै आयोजना हुने महोत्सवको आयोजना रत्ननगर उद्योग वाणिज्य संघले गर्न लागेको हो भने रत्ननगर नगरपालिका महोत्सवको संरक्षक रहेको छ ।