किमाथांका- सङ्खुवासभाको खाँदबारी नगरपालिका-४, स्थित सेकाहामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्न सेकाहा महोत्सव हुने भएको छ । खाँदबारी-४ स्थित सेकाहामा ‘पुस ११ देखि १५ गते खाँदबारी-४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ’ भन्ने नारासहित महोत्सव हुन लागेको हो ।
आज पत्रकार सम्मेलन गर्दै महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समितिका साथै विभिन्न उपसमितिहरू गठन गरी तीव्र रूपमा तयारीमा जुटेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले जानकारी दिए ।
स्थानीय घरेलु तथा कृषि उत्पादनसहितका सामग्री महोत्सवमा प्रदर्शनी गरिने अध्यक्ष गुरुङले बताए । महोत्सवमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायक-गायिकाद्वारा बृहत् सांगितिक कार्यक्रम प्रस्तुति हुने आयोजकले जनाएको छ ।