काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्ने बताएका छन् । उनले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका हुन् ।
आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए। कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उल्लेख गरे । साथै उनले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण मिलाउन माग गरे । उनले भने, “महाधिवेशनको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।”
पार्टी सभापति देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिए । पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने जानकारी गराए ।