काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेट गरेका हुन् ।
भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको थियो ।सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत सोङलाई धन्यवाद दिँदै नेपाल-चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक विकासमा सहकार्य विस्तार तथा दुवै देशका संसद्हरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरे ।
भेटमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए । उनले नेपाल र चीन असल छिमेकी, घनिष्ट मित्र र भरपर्दो साझेदार रहँदै आएका बताउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे ।
सभामुख घिमिरेले नेपाल एक-चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू-जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुखले प्रशंसा गरे । साथै नेपाल-चीन संसद्बीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरे ।
सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति नेपाल आभारी रहेको बताउँदै ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ)सम्झौताअन्तर्गतका तथा अन्य विकास सहायता परियोजना यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे ।
राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताए। उनले केही दिनअघि नेपाल-चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका जानकारी दिए ।