काठमाडौं - ऐना झ्यालको पुतली, हल्कारा, रेडसुटकेश जस्ता फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको चलचित्रका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् ।
‘आइसफल प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई पनि गति दिने योजना बनाएको छ । यसैका लागि हामीले अडिसन कल गरेका हौँ,’पोखरेलले भने, ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ ।’
विदेशीका फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन प्रोड्युसरको काम गर्दै आएको आइसफल प्रडक्सनले निर्माण गरेका चलचित्रहरु विश्वका प्रतिष्ठित फेस्टिभलमा छनौट एवं पुरस्कृत भएका छन् ।अडिसन कलमा आइसफलले मुख्य भूमिकादेखि सहायक भूमिकासम्मका लागि कलाकारको अडिसन लिइने जनाएको छ ।
यसका लागि जुनसुकै लिङ्ग,उमेर र जात समूहका कलाकारले पनि आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आफ्नो परिचयात्मक भिडियो [email protected] मा पठाउनु पर्ने निर्माता पोखरेलले जानकारी गराएका छन् ।