- १७ असार २०६९ मा पाँचथरमा देवराजविरुद्ध विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा
- साढे १३ वर्षपछि सिआइबीले काठमाडौंको कपनमा पक्राउ गरेर पाँचथर पठायो
- उनको पक्राउसँगै मुद्दाको अनुसन्धान अघि बढ्ने पाँचथर प्रहरीद्वारा जानकारी
- दोषी ठहरिए बचाऊ नगर्ने अध्यक्ष साम्पाङको प्रस्टीकरण
काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई १३ वर्ष पुरानो विष्फोटक पदार्थसम्बन्धी मुद्दामा मंगलबार पक्राउ गरेको हो ।
उनको नागरिकताको नाम राजकुमार तामाङ हो । कुमार र विश्वक्रान्ति भनेर पनि उनलाई चिनिन्छ । ५० वर्षीय लामालाई सिआइबीले कपनबाट पक्राउ गरेको जानकारी दिएको छ । पक्राउपछि उनलाई पाँचथर पठाइएको सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले बताए । ‘पाँचथरमा उनी प्रतिवादी भएको एउटा मुद्दा थियो । त्यही मुद्दामा उनी फरार प्रतिवादी थिए,’ उनले प्रभावसँग भने, ‘आवश्यक कारबाहीका लागि हामीले त्यता पठाइसक्यौं ।’
लामा रुपन्देहीको बुटवलमा हुने श्रम संस्कृति पार्टीको कार्यक्रमका लागि जान काठमाडौं आएका थिए । त्यहाँ यही ५ पुसमा पार्टीको कार्यक्रम आयोजना गरिँदै छ । कार्यक्रमलाई सम्बोधन गर्न जान भन्दै कोशीदेखि काठमाडौं आएका उनलाई मंगलबार बेलुकी सिआइबी टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा १७ असार २०६९ मा विष्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता छ । मुद्दाका प्रतिवादी लामा फरार रहेकोले सिआइबीसँग समन्वय गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अनिष कायस्थले बताए ।
‘आर्थिक वर्ष २०६८÷६९ को मुद्दा नम्बर १०५ मा विष्फोटक पदार्थसम्बन्धी मुद्दा रहेको हाम्रो रेकर्डमा छ । रेकर्ड हेर्दा प्रतिवादी फरार देखियो,’ उनले भने, ‘त्यही भएर सिआइबीसँग समन्वय गरेर पक्राउ गर्यौं, अब मुद्दाको अनुसन्धान अघि बढ्छ ।’ लामा दोस्रो संविधानसभाअघि संयुक्त जातीय मुक्ति मोर्चामा थिए । त्यहाँ उनी प्रवक्ताको भूमिकामा थिए । मोर्चा र तिनका नेता कार्यकर्ताहरू भूमिगत थिए । त्यसबेला देवराज विश्वक्रान्ति नामले चिनिन्थे । उनी १५ फागुन २०६८ सालमा काठमाडौंको बबरमहलस्थित आयल निगमको गेट नजिक बम विष्फोट घटनामा संलग्न थिए, जहाँ तीन जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।

हालै श्रम संस्कृति पार्टीको उपाध्यक्ष भएका उनले प्रभावसँग अन्तर्वार्ताको क्रममा आफू १४ वर्षअघिको बबरमहल बम विष्फोट काण्डसँग सम्बन्धित भएको स्वीकारेका थिए । ‘म भूमिगत हुँदै शान्तिपूर्ण राजनीतिमा आएको हुँ । बबरमहल काण्डमा म संलग्न थिएँ । त्यस दिन देशका ४२ ठाउँमा विष्फोट गराएको थिएँ,’ उनले भनेका थिए, ‘त्यही कारण म साढे नौ वर्ष जेल बसें ।’ लामाले राजधानी काठमाडौं, पूर्वी तराईदेखि पहाडका जिल्लाहरूमै विष्फोटका घटना गराएका थिए । भलै, काठमाडौंको बबरमहलबाहेकका ठाउँमा कुनै मानवीय क्षति भएन । तर, सुरक्षा चुनौती बढाएका उनको खोजीमा सिंगो प्रहरी संगठन जुट्यो । अन्ततः २२ असार २०६९ मा पाँचथरको लुङ्रुपा-२ बाट पक्राउ परे ।
लामा त्यसबेला प्रवक्ता रहेको जातीय मुक्ति मोर्चाले नेपाली समाजको प्रधान अन्तरविरोध जातीय सवाल भएको निष्कर्ष निकालेको थियो । त्यसका लागि हिंसात्मक संघर्षलाई कार्यनीति बनाएको थियो । सोहीअनुसार काठमाडौंसहित देशका विभिन्न स्थानमा विष्फोटका घटना घटाएर सरकारलाई घुँडा टेकाउन चाहेको थियो । तर, घटनाको केही समयमै लामासहितका नेताहरू पक्राउ परे ।
उनको घर धनकुटाको साविक चुनवाङ-१, हालको पाख्रीबास नगरपालिका-९ हो । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा-२ मा स्वतन्त्र उम्मेदवार थिए । त्यसबेला एमाले उम्मेदवार देवराज घिमिरे निर्वाचित भए, जो विघटित प्रतिनिधिसभाका सभामुख भए । उनका निकटतम् प्रतिद्वन्द्वी अर्का स्वतन्त्र उम्मेदवार अधिवक्ता स्वागत नेपाल भएका थिए । लामा निकटतम् प्रतिद्वन्द्वी भएनन् ।
त्यसबारे उनले भनेका थिए, ‘म झापा-२ को उम्मेदवारमध्येमा सर्वाधिक विद्वान मै थिएँ तर मैले संगठन नहुनाले आफ्नो एजेण्डा जनजनमा पुर्याउनै पाइनँ कारण चुनाव चिह्न स्वतन्त्रको ढिलो आउँछ र हारेँ । सायद, हिजोको मेरो गतिविधिको त्रास मतदातामा थियो ।’
लामा श्रम संस्कृति पार्टीको वैचारिक र सैद्धान्तिक पाटोमा सक्रिय थिए । अघिल्लो महिना सार्वजनिक पार्टीको घोषणापत्रको मस्यौदाकार लामा नै हुन् । पार्टीको जे जति डकुमेन्टेसन भएको छ, उनै लामाले गरेको बताइन्छ । उनले ‘हर्कपथ’लाई सैद्धान्तिकीकरण गरेका छन् । उनका अनुसार श्रममा आधारित प्रकृति, संस्कृति र प्रविधिको संयोजनबाट समृद्ध र विकसित नेपाल निर्माणको विचार हर्कपथ हो । उनै लामालाई श्रम संस्कृति पार्टीको ‘थिंक ट्यांक’ मानिन्थ्यो । तर, झण्डै डेढ दशक पुरानो मुद्दा उनका लागि गलपासो बन्यो ।
‘प्रतिशोध भन्ने आएको छ’
आफ्नो पार्टीका उपाध्यक्ष लामा पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उनी दोषी ठहरिए बचाऊ नगर्ने बताएका छन् । तर, निर्दोष भए अन्याय र प्रतिशोधको विरोध गर्ने चेतावनी दिए । ‘हाम्रो उपाध्यक्ष दोषी ठहर हुन्छ भने हामी बचाऊको प्रयास गर्ने छैनौं,’ उनले सामाजि सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर, निर्दोष हुन् भने अन्याय र प्रतिशोधको विरोध हुने नै छ ।’
अध्यक्ष साम्पाङको यस्तो प्रतिक्रियाको आलोचना पनि भएको छ । कतिपयले आफ्नो उपाध्यक्ष पक्राउ पर्दा पनि संघर्षका कार्यक्रम घोषणा नगरेको भनेका छन् । केहीले चाहिँ आरोपी नेता पक्राउ पर्दा नबचाउने भनेर साम्पाङ कानुनी राज्यको कट्टर पक्षपाति देखिएको भन्दै उनको प्रशंसा गरेका छन् । उनका केही समर्थकले भने पक्राउपछि लामाको पद निलम्बन गर्न सुझाएका छन् ।