काठमाडौं - नेपाल राष्ट्र बैंक र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरे ।
उक्त समझदारीअनुसार आइएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ । उक्त परियोजनाअन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको मार्गचित्रको मस्यौदा तयार गरिनेछ । साथै, उक्त रणनीतिलाई चरणबद्ध रूपमा कार्यान्वयनका निम्ति सोसम्बन्धी ढाँचासमेत तयार गरिने जनाइएको छ ।
“यसअन्तर्गत जलवायु वित्तको रणनीति तर्जुमा र कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकको र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका निम्ति आइएफसीले तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन हुनेछन्”, राष्ट्र बैंकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
उक्त परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणका निम्ति आइएफसी र राष्ट्र बैंकबीच विगतदेखि सहकार्य हुँदै आएको उल्लेख गरे । उनले नयाँ समझदारीबाट नेपालमा जलवायु वित्तको नीतिगत विकास र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसैगरी, आइएफसीका व्यवस्थापक स्मिथले राष्ट्र बैंकसँगको साझेदारीबाट नेपालमा जलवायु वित्तको रणनीतिक विकास र कार्यान्वयन दिशामा परिणाममुखी उपलब्धि हासिल हुने अपेक्षा राखे ।