ठगी शैली
- टेलिग्रामको च्याटबक्समा युवतीको नामबाट युवाहरूलाई दिनमै ३९०० सम्म कमाउन सकिने र त्यसका लागि इच्छुक भए जोडिन प्रस्ताव
- जोडिएपछि छुट्टै अकाउन्ट खोल्न लगाउने
- सुरुमा कम्पनीको तर्फबाट अकाउन्टमा १२ हजार ५०० राखिदिने
- त्यसपछि दुई/तीन दिनमा १७ हजार खातामा देखिने र निकाल्न मिल्ने
- लगानी गरे नाफा राम्रो हुने आश्वासन
- लगानी बढाउँदै जाँदा दोब्बर बढ्नेसम्मको वचन
- आधा करोड छेउछाउ लगानी पुगेपछि निकाल्न नमिल्ने बनाउने र निकाल्न बीमा गर्नुपर्ने सर्त
- अन्ततः रकम निकाल्न नमिल्ने बनाएर सम्पर्कविहीन हुने
काठमाडौं- टेलिग्राममा सुप्रिया नामकी केटीसँग पाँचथरका विक्रमको बोलचाल १६ कात्तिकमा पहिलोपटक भयो । बोल्दै जाँदा सुप्रियाले भनिन्- तपाईं दिनको दुई हजार रुपैयाँ कमाउन चाहनुहुन्छ ? सुरुमा त विक्रमले केही भनेनन् । सुप्रियाले बारम्बार त्यही म्यासेज पठाइरहिन् । जोसँग विक्रम(नाम परिवर्तन)को कहिल्यै भेटघाट थिएन । चिनजान भएकै टेलिग्राममा हो ।
‘दिनको दुई हजार कमाइ कसरी हुन्छ ?’ विक्रमलाई जान्न चाहिँ मन लाग्यो । टेलिग्रामकै च्याटबक्समा त्यसबारे सोधी खोजी गरे । त्यसक्रममा सुप्रियाले एउटा फर्निचर उद्योगको उत्पादनको प्रबद्र्धनात्मक भिडियो सामग्री प्रचार गर्नुपर्ने काम भनिन् । विक्रम राजी भए । टेलिग्रामको च्याट ग्रुपमा जोडिए । लगत्तै जानुका घिमिरे नामकी महिलाले विक्रमलाई भनिन्- ‘मलाई आईकेईए कम्पनीको एजेन्ट सुप्रियाले हजुरको कन्ट्याक्ट डिटेल सेयर गर्नुभयो । हजुर कामको लागि इन्ट्रेस्टेड हुनुहुन्छ ?’
विक्रमले उल्टै सोधे - काम चाहिँ के हो ? कसरी गर्नुपर्ने ? के-के गर्नुपर्छ ? जानुकाले भनिन्, ‘होमबेस्ड जब हो र हजुरले जहाँबाट जतिबेला पनि काम गर्न सक्नुहुन्छ । हजुरको जब रोल कम्पनीको वर्किङ पोर्टल र वेबसाइटमार्फत् सेलिङ प्रोडक्टहरूको प्रमोटिङ, रेटिङ र रिभ्यु बुस्ट गर्ने हो ।’ विक्रम तुरुन्तै राजी भए । भने, ‘त्यसो भए ओके । म काम गर्छु ।’ विक्रम शिक्षक हुन् । खान लाउन उनलाई पर्याप्त थियो । तर, अतिरिक्त कमाउने भए पनि किन पछि हट्ने ? सुप्रिया र जानुकाको विश्वासमा परे । उनीहरूले भनेको काम गर्न तयार भए । मनमा भने एउटा खुल्दुली भयो र सोधे, ‘कम्पनीबारे अलिक प्रष्ट पार्नुहोस् न एकपटक ।’
च्याटबक्समै जानुकाले आईकेई एक स्विडिस मल्टिनेसनल कम्पनी भएको र त्यसले घरको फर्निचर, घर सजावट र अन्य सामग्रीसँगै डिजाइनहरूको बिक्री गर्ने जानकारी दिइन् । यत्ति सुन्दा विक्रमलाई विश्वाशिलो कम्पनी लाग्यो । तर, तालिम लिनुपर्ने भनियो । तालिम पूरा गरेपछि मात्रै दैनिक ८०० देखि १२०० रुपैयाँसम्म कमाउन सकिने बताइन् । पछिपछि ३६०० देखि ३९०० सम्म कमाउन सकिने पनि जानकारी गराइन् । विक्रमको मनमा लाग्यो, ‘कमाउने काइदा यो रहेछ ।’
अनि, तालिममा सहभागी हुन विक्रम तयार भए । नाम दर्ता गरे । टेलिग्राममा अर्को आइडी खोले । कम्पनीले उनको खातामा १२ हजार ५०० रुपैयाँ राखिदियो । विक्रम औधी खुसी भए । साँच्चिकै कमाइ हुने ठाने । काम पनि थाले । उनले प्रभावलाई सुनाए, ‘फर्निचरको विभिन्न अर्डर तीनपटक गर्नुपर्ने रहेछ । २५/२५ को सेट । त्यहाँ त कमिसन आउँदो रहेछ । अनि त्यसपछि उहाँ (जानुका)ले बोनस सोनस के के गरेर मलाई १७ हजार रुपैयाँ खातामा दिनुभयो । विथड्र गर्न पनि सहयोग गर्नुभयो ।’
विक्रमलाई लगानी गरे मुनाफा राम्रै हुने जानुकाले भनिन् । तर, उनी चुपचाप रहे । दोस्रो दिन पनि जानुकाले त्यही कुरा दोहोर्याइन् । लगानी गरे फाइदैफाइदा हुने बताइन् । अनि, विक्रमलाई लगानी गर्ने मन भयो । १२ हजार ५०० रुपैयाँ लगानी गरे । जानुकाले दोब्बर नाफा हुने सुनाइन् । नभन्दै अकाउन्टमा २३ हजार जति पैसा देखियो । उनी लोभिए । कमाइ त बबाल हुने भन्ठाने । फेरि जानुकाले लगानी बढाउन सुझाइन् । त्यसपछि १२ हजार ५०० नै लगानी गरे । नाफा राम्रै पाए । पटकपटक नाफा पाएपछि उनी ठूलो लगानी गर्न तयार भए । तेस्रोपटकमा २२ हजार ५२६ र चौथोपटकमा उनले एक लाख लगानी गरे । त्यति लगानी गरेको १/२ दिनमै अकाउन्टमा तीन लाख ४१ हजार भएको देखियो । विक्रम झनै हौसिए । अनि, थप दुई लाख लगानी गरे । बढेर छ लाख ७७ हजार पुग्यो । फेरि, खोजखाज गरेर छैटौ पटकमा एक लाख लगानी बढाए । खातामा पैसा बढ्दै गयो । १६ लाख ७७ हजार देखियो ।
सातौपटक लगानी गर्न विक्रम तयार भए । उनले ४१ हजार ६०५ लगानी गरे । खातामा पैसा बढेको बढेकै देखियो । अनि त आठौपटकमा ६ लाख ७७ हजार ६२७ रुपैयाँ लगानी गरे । उनले यो लगानी घरमा दाजु, बुबाआमालगायतसँग माग्दै गरेका हुन् । बुबाआमा पनि विक्रमको अकाउन्टमा पैसा बढेको देखेर मख्ख । शिक्षक छोरोको अतिरिक्त कमाइले उनीहरू गदगद भए । कारण, यो समयको कमाइ थियो । अर्थात् १० दिनको । अंग्रेजी महिना नोभेम्बर २ तारिखदेखि जानुकासँग चिनजान भएर विक्रमले लगानी थालेका । सोही महिनाको १३ तारिखमा उनले आफन्तजनसँग मागेर १६ लाख ७७ हजार ८८९ रुपैयाँ लगानी थपे । अकाउन्टमा ६० लाख नाघ्यो । तर, अब यो रकम निकाल्न भने बीमा गर्नुपर्ने भनियो । बीमा रकम १९ लाख ९४ हजार ४६० तोकियो । त्यति लगानी सबै आउने जानुकाको भनाइ थियो । सोहीअनुसार १७ नोभेम्बर अर्थात् मंसिर १ गते त्यति रकम बुझाए । त्यो रकम गाउँलेहरूको सुन बैंकमा धितो राखेर बालृकष्णले निकालेका थिए । पैसा निकाल्न मिलेन । अझै लगानी बढाउन दबाब दिए ।
त्यहीबेला उनले गाउँलेहरूबाटै सुने, ‘टेलिग्रामबाट मान्छेहरू थुप्रै ठगिए अरे ।’ विक्रम झस्किए । अनि, टेलिग्रामको आफ्नो अकाउन्टमा भएको पैसा निकाल्न मिल्ने बनाउन जानुकासँग भने । तर, ९० लाख पुगेपछि मात्रै निकाल्न मिल्ने भने । कसै गर्दा पनि उनले पैसा निकाल्न सकेनन् । यही ९ मंसिरमा उनले काठमाडौं आएर साइबर ब्युरोमा ठगीसम्बन्धी कसुरमा उजुरी दिए । तर, ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले भनिदिए, ‘तपाईंको ठगिएको रकम करिब करिब फिर्ता आउँदैन ।’
विक्रम निराश भएर पाँचथर फर्किएका छन् । धन कमाउने लोभमा परेर उनले झण्डै आधा करोड डुबाए । उनले भने, ‘मलाई यसरी उक्साइयो नि, म आँखा चिम्लेर लगानी गर्न तयार भएँ र अहिले आएर यस्तो हालत भयो ।’ विक्रम मात्रै होइन, पाँचथरकै प्रवीन बराइलीले पनि टेलिग्राममै ५० लाख डुबाए । उनले चिन्तित हुँदै भने, ‘अब के गर्ने होला ?’
के हो टेलिग्राम ?
यो इन्टरनेटमार्फत् सन्देश, फोन कल र फाइल आदानप्रदान गर्न मिल्ने मोबाइल एप हो । यहाँ हजारौँ सदस्यसँग छलफल गर्न सकिन्छ । तर, पछिल्ला दिनमा यो एपबाट आर्थिक ठगीका घटना बढिरहेका छन् । अर्थात्, आपराधिक व्यक्तिहरूले प्रलोभनमा पारेर मानिसहरूलाई ठगी गर्ने सामाजिक सञ्जाल बनेको छ ।