काठमाडौं– नर्सहरुको लिडरसिपको विकास गर्दै ब्यक्तित्व निखार्ने उदेश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । ‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसन खुल्ला गरेकाे हाे ।
केही समयअगाडिदेखि आवेदन खुल्ला भएको प्रतियोगिताको छनौट चरणको अडिसन डिसेम्बर २० गतेबाट हुने भएको छ । एनक्लेकेस् नेपाल मुख्य प्रायोजक रहेका प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । आयाेजकले प्रतियोगिताका लागि आवेदन फारम ‘खल्ती’ एपमा रहेकाे जनाएकाे छ । आयाेजकका अनुसार अडिसनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिनेछ ।
प्रतियोगिताका शीर्ष विजेताले नगद एक लाख, थाइल्याण्डमा २९२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नुका साथै ५ लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्ने आयाेजकले जानकारी गराएकाे छ ।
प्रतियोगितामा देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले भाग लिन सक्ने विज्ञप्तिमा उल्लेख छ । छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगिलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिने छ । प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।
अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध तथा अध्ययनरतहरूलाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएकाे छ । अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगिलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा प्रशिक्षण दिइने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा समेत विजेता छान्ने भएको छ ।