काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह झण्डै दुईतिहाइ बहुमतको शक्तिशाली सरकारको नेतृत्व गरिरहे पनि उनी एक्लिँदै गएको स्वयंले खुलाएका छन् । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरू प्रतिपक्षी दलका सांसदहरू जसरी सरकारको आलोचनामा उत्रिन थालेका र पार्टीकै महामन्त्री विपिनकुमार आचार्यले उत्तीर्णांक ४० राख्ने हो भने वालेन्द्र सरकार असफल भएको कडा टिप्पणी गरेपछि प्रधानमन्त्री शाहले आफू एक्लिएको भावसहित चिन्ता प्रकट गरेका हुन् ।

केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन ।
वालेन्द्र शाह
प्रधानमन्त्री
फेरि, वालेन्द्र सरकारमाथि पछिल्ला दिनमा जे जति प्रश्न जनता र प्रतिपक्षबाट उठेका छन्, रास्वपा सभापति रवि लामिछाने र उनीनिकट सांसदहरूले डटेर प्रतिरक्षा गर्न छाडेका छन् । यस्तोमा शुक्रबार मध्यरात हुनै लाग्दा फेसबुकमा प्रधानमन्त्री शाहले आफू एक्लो भएको अर्थ लाग्नेगरी स्टाटस पोस्ट गरेका हुन् । यो आफ्नै दल रास्वपा र ती दलका सांसदहरूप्रति लक्षित रहेको आकलन र व्याख्या भइरहेका छन् ।
हुन पनि शुक्रबार मनिष झा, रमेश प्रसाईं, टीका संग्रौलालगायत रास्वपाकै सांसदहरूले संसद्मा सरकारको कामबारे गम्भीर प्रश्न गरेका थिए । पार्टीकै सांसद डा. अमरेशकुमार सिंह विगतदेखि वालेन्द्र सरकारको खरो आलोचक छन् । सांसद पुरुषोत्तम यादव होस् वा जगदीश खरेल (दोलखा) वालेन्द्र सरकारको कडा आलोचक हुन् ।
शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन ।’

परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौं । नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।
मनिष झा
सांसद, रास्वपा
यसअघि सुकुमबासीलाई जबर्जस्ती विस्थापित गरेपछि रास्वपाका प्रमुख सचेतक प्रदीपचन्द्र परियार र सचेतक क्रान्तिशिखा धितालले सरकारको विरोध गरेका थिए । त्यसबेला पनि प्रधानमन्त्री शाहले सुकुमबासी नागरिकलाई आश्वास्त पार्नेगरी लेखेका थिए, ‘ढुक्क हुनुहोस् ।’
तर, वालेन्द्र सरकार एकपछि अर्को विवादमा तानिएको छ । सार्वजनिक सेवा प्रवाह पूरै भद्रगोल छ । राहदानी लिन युवायुवतीको राहदानी विभागमा दिनहुँ लामो लाइन हुने गरेको छ । साल्ट टे«डिङका कार्यालयहरूमा ग्यास लिनेहरूको लाइन झण्डै दुई सातादेखि छ । बजारमा ग्यास हाहाकार कायमै छ । सरकारी अस्पतालहरूमा लाइन उस्तै छ । जबकि, वालेन्द्र सरकारले सार्वजनिक सेवाबारे भनेको थियो- नो लाइन, अनलाइन । तर, अहिले त्यस्तो छैन ।
किसानले अझै मल पाएका छैनन् । सहकारीपीडितहरूले न्याय पाएका छैनन् । लघुवित्तपीडितहरू आन्दोलनमै छन् । शिक्षकहरू आन्दोलनको सुरमा छन् । विस्थापित सुकुमबासीहरू पनि आन्दोलनको तयारीमा छन् । नेकपा एमालेले सडक संघर्ष गर्ने महासचिव शंकर पोखरेलले बताइसकेका छन् । पछिल्लो एक महिनामा कम्तीमा आठ जनाले आत्मदाह गरे । नातावादको विरोध गर्ने वालेन्द्र सरकारले नाता र पार्टीसँग आबद्धहरूलाई धमाधम राजनीतिक नियुक्ति दिलाए ।
तराई मधेसमा यही साउन दोस्रो साता भएको धार्मिक तनावमा रास्वपाकै नेता कार्यकर्ता सभापति रवि लामिछानेसँग संवादमा बसेको र संयुक्त विश्व हिन्दू एकता समाजको नाममा गृहमन्त्री सुधन गुरुङलाई मागपत्र बुझाउने देखिएपछि राज्य प्रायोजित धार्मिक तनाव भनेर कतिपयले टिप्पणी गरे । यस्तोमा रास्वपा सभापति लामिछाने निकटका नेताहरू बचाउमा उत्रिएनन् ।
यसबाहेक १७ जेठमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेपछि उनको यो अभिव्यक्तिको बचाउमा रास्वपा सांसदहरू उत्रिएका छैनन् । जबकि, प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै दिनहुँ प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्रले क्षमा माग्नुपर्ने र सभामुखले संसदको रेडर्कबाट हटाउनुपर्ने माग गर्छन् । वालेन्द्र सरकारप्रति जति प्रश्न उठ्छन्, यसप्रति जवाफदेही सभापति लामिछाने र अन्य नेताहरू छैनन् ।
यस्तोमा उनले लेखे, ‘...कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन ।’ प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिपछि शनिबार रास्वपा महामन्त्री आचार्यले एक्लैले देश बनाउन नसकिने भन्दै जवाफ फर्काएका छन् । उनले भैरहवा पुगेर भने, ‘हामी त्यो सभ्यताको व्यक्ति हो, रत्नाकरलाई वाल्मिकी बनाउने त हाम्रो समाज हो नि त, त्यो कहीँ पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि रास्वपाका साथीहरूले हेर्नुहोला, सबै जना मिलेर यो देश बनाउने हो ।’
प्रधानमन्त्री वालेन्द्रनिकट रास्वपा सांसद गणेश कार्कीले भने प्रधानमन्त्रीको पोस्टलाई राजनीतिक अर्थ लगाउनुपर्ने विषय नभएको बताए । ‘उहाँ कविता पनि लेखिरहने मान्छे हो । यो राजनीतिक अर्थ लगाउनुपर्ने गहन विषय नै केही होइन,’ उनले प्रभावसँग भने ।
तर, पार्टीभित्रको पछिल्लो गतिविधिले भने सांसद कार्कीको दाबीलाई खण्डित गर्छ । अर्थात् सांसद कार्कीको जवाफलाई सहजै पत्याउने अवस्था देखिँदैन । प्रधानमन्त्रीको पोस्टको भोलिपल्ट शनिबार रास्वपा सांसद झाले सामाजिक सञ्जालबाट जवाफ दिए । ‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौं,’ उनले लेखे ।
तर, उनले सरकारका केही पक्षमा सुधार आवश्यक रहेको पनि बताए । ‘नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ उनले थप लेखेका छन् । झाको यो प्रतिक्रियालाई पनि पार्टीभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ । हुन पनि रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्ध पछिल्ला दिनमा ठीकठाक देखिँदैन । जुन तराई-मधेसमा भएको हालैको धार्मिक तनावमा प्रकट भयो ।
१० साउनको रातिदेखि तनाव हुँदा पनि प्रधानमन्त्री शाह १४ गते साँझसम्म मौन रहे । जबकि, प्रधानमन्त्रीले तनाव मत्थर गर्न सम्बोधन गर्नुपर्ने आवाज उठ्यो । यस्तोमा रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाए । राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरे । धार्मिक अगुवाहरूसँग छलफलमा बसे । तराई-मधेसका सांसदहरूसँग बैठक बसे । धार्मिक तनाव मत्थर गर्न भूमिका निर्वाह गरे । यसलाई लिएर कतिपयले लामिछानेले सत्ताबाहिरबाटै प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको चर्चा चल्यो ।
यसपछि मात्रै प्रधानमन्त्री शाहले देशवासीको नाममा सम्बोधन गरे । गृहमन्त्री सुधन गुरुङलाई तनावग्रस्त क्षेत्रमा पठाए । अन्ततः तनाव अन्त्य भएको छ । उसो त यसअघि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको चर्चा चलेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोविता गौतमलगायतलाई हटाउने भन्दै सभापति लामिछानेसँग उनकै निवास बूढानीलकण्ठमा २८ असारमा संवाद गरेका थिए । त्यसको दुई दिनपछि लामिछाने र वाग्लेबीच काभ्रेको एक होटलमा लामो संवाद भयो । यी परिघटनाहरूले रास्वपामा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्ध ठीकठाक छैन भन्ने देखाउने विश्लेषकहरु बताउँछन् ।
‘सरकार र पार्टीभित्र गडबडीको हल्ला अफवाहमात्रै’
काठमाडौं (प्रस)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहसँग सम्बन्ध चिसिएको हल्लामा सत्यता नभएको बताएका छन् ।
रास्वपा सांसदहरु नै सरकारको आलोचनामा उत्रिएपछि प्रधानमन्त्री शाहले शुक्रबार राति फेसबुकबाट ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि रास्वपा र सरकारबीचको दूरी झन् बढेको चर्चा भइरहेको बेला सभापति लामिछानेको उक्त अभिव्यक्ति आएको हो । लामिछानेले शनिबार साँझ यहाँ आयोजित एक कार्यक्रममा बोल्दै सरकार र आफ्नो पार्टीभित्र केही गडबड भयो भन्दै भएका हल्लाहरू अफवाहमात्रै रहेको दाबी गरे ।
उनले आफ्नो दलको सरकारलाई गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाए । ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौं, कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौं । हामी छौं,’ लामिछानेले भने, ‘अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ ।’
उनले रास्वपा आफ्नो वाचा र प्रतिबद्धताबाट पछि नहट्ने दोहोर्याए । ‘आज पनि सरकारले वाचा गरेको छ, हामी धेरै मान्छेलाई रोजगारी दिन्छौं । हामीले भनेका भिडियोहरू यत्रतत्र छन् । भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन् । तर हामी हार मान्दैनौं नि । किनभने हामीलाई हार मान्ने छुट नै छैन,’ सभापति लामिछानेले भने ।