- चुनावमा जान एमाले अझै तयार भएन, वर्तमान सरकारले चुनाव गर्नै नसक्ने जिकिर
- प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बनाउने प्रयास नगरेको आरोप
- यसअघिको चुनावमा साढे २८ लाख मतदाता ‘होल्ड’ गरेको दलविनै चुनाव गर्न चुनौती
- दलहरूलाई चुनावप्रति सकारात्मक बनाउन प्रधानमन्त्रीले गरिन् नागरिक समाजसँग सहयोगको याचना
नहुने स्वर्गमा जाने भन्ने जस्तै हो, नहुने चुनावमा एमाले जान्ने भन्ने कुरा । यो सरकारको चालामाला हेर्दा चुनाव होलाजस्तो लाग्छ ?
भानुभक्त ढकाल
स्थायी समिति सदस्य, नेकपा एमाले
काठमाडौं– जेन–जी विद्रोहका कारण अप्रत्यासितरुपमा सत्ताच्युत भएका केपी शर्मा ओली प्रतिनिधिसभा पुनस्र्थापनाको अडानमा छन् । उनको दल नेकपा एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै पुनस्र्थापनाको मागसहित अदालत जाने निर्णय नै गरेको थियो । यद्यपि, एमाले अदालतमा भने गएको छैन ।
देशको ठूलो जनाधार भएको दल एमाले हो । त्यस्तो दलले चुनावमा जाँदिन भन्नेबित्तिकै चुनाव गरे भने पनि त्यसको विश्वसनीयता रहँदैन ।
डा. भेषराज घिमिरे
राजनीतिक विश्लेषक
त्यसो त ओली र उनको दल एमालेले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई नै मान्यता दिएको छैन । ओलीले वर्तमान सरकार कसको सरकार हो भन्ने नै नखुलेको दाबी गरेका छन् । त्यसैले कार्की नेतृत्वको सरकारले गर्ने चुनावमा सहभागी नहुने उनको अभिव्यक्ति हरेक दिनजसो आइरहेको छ । सरकारले घोषणा गरेको फागुन २१ को चुनाव हुनै नसक्ने एमालेको दाबी छ ।
प्रधानमन्त्रीले एमाले, कांग्रेसलगायत दलका नेतृत्वहरूसँग छलफल गर्नुपर्छ । कुनै ठूलो दल चुनावमा सहभागी नभए चुनावी सुरक्षामाथि गम्भीर संकट आउँछ । चुनाव बिथोलिन सक्छ ।
लोकराज बराल
राजनीतिशास्त्री
राजनीतिक विश्लेषकहरु वर्तमान संकटबाट मुलुकलाई पार लगाउने एकमात्र विकल्प भनेको चुनाव नै हो । यस्तो अवस्थामा विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले चुनावमा जानबाट किन पन्छिन खोजिरहेको छ ? भन्ने प्रश्न आमचासोको विषय बनेको छ । नेपाली कांग्रेससहित प्रायः सबै दल चुनावमा जान तयार देखिँदा एमालेमात्र चुनावको विपक्षमा देखिन्छ । के एमालेको सहभागिताविना चुनाव सम्भव होला ? वा एमाले सहभागी नहुँदैमा चुनाव रोकिएला ? बहस भइरहेको छ ।
अघिल्लो चुनावको मतलाई आधार मान्दा एमालेले साढे २८ लाख मतदाता ‘होल्ड’ गर्छ । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल सरकारले चुनाव गर्नै नसक्ने दाबी गर्छन् । नहुने निर्वाचनमा एमाले सहभागी हुने भन्ने कुरै नआउने उनले प्रभावलाई बताए । ‘नहुने स्वर्गमा जाने भन्नेजस्तै हो, नहुने चुनावमा एमाले जान्ने भन्ने कुरा,’ उनले प्रतिप्रश्न गरे, ‘यो सरकारको चालामाला हेर्दा चुनाव होलाजस्तो लाग्छ ? चुनाव गर्लाजस्तो लाग्छ ? विश्वासको आधार केही छ ?’
नेता ढकालले चुनाव हुने भयो भने एमाले सहभागी हुने संकेत गरेका छन् । तर, चुनाव हुनेमा एमाले विश्वस्त छैन । उसको नजरमा प्रधानमन्त्री कार्कीले चुनावी वातावरण बनाएकी छैनन् । यहीबीच सोमबार प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवाहरूसँग संवाद गरेर दलहरूलाई चुनावप्रति सकारात्मक बनाउन सहयोगको याचना गरिन् । दलका नेतृत्वहरूसँग भने उनले संवाद गरेकी छैनन् । उनी चुनावी सरकारको प्रधानमन्त्री भएको भने दुई महिना नाघ्यो । तर, दल र तिनका नेतृत्वहरूसँग उनको सम्बन्ध पानी बाराबारको छ । यस्तोमा एमालेले चुनाव नहुने भन्दै प्रतिनिधिसभा पुनस्र्थापनामै जोड गरिरहेको छ । सडकमा राजनीतिक र अदालतमा कानुनी लडाइँ लड्नेगरी एमाले अघि बढ्दै छ ।
राजनीतिक विश्लेषक डा. भेषराज घिमिरे एमालेविना चुनाव हुन नसक्ने बताउँछन् । ‘देशको ठूलो जनाधार भएको दल एमाले हो । त्यस्तो दलले चुनावमा जाँदिन भन्नेबित्तिकै चुनाव गरे भने पनि त्यसको विश्वसनीयता रहँदैन,’ उनले भने । एमाले अध्यक्ष ओलीको सत्ता बहिगर्मनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा २७ भदौमा नागरिक सरकार बनेको हो । यो सरकार गठनमा निर्णायक जेन–जी समूहहरू भए । अर्थात्, वर्तमान कार्की सरकार जेन–जी समर्थित हो । त्यसो हुनाले ओली र उनको दल एमाले वर्तमान सरकारको खरो विरोधी हुन् । यो सरकारले चुनाव गर्नै नसक्ने ओलीले बारम्बार दोहो¥याउँदै आएका छन् ।
एमालेले शनिबार सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्यो । चुनाव गर्ने छनक सरकारले नदेखाएको भन्दै प्रतिनिधिसभा पुनस्र्थापनाकै एजेण्डामा एमाले अघि बढ्ने जनाउ दियो । राजनीतिक विश्लेषक घिमिरे थप्छन्, ‘एमालेले संघर्षका कार्यक्रम ल्याए चुनाव सम्भव छैन । प्रधानमन्त्रीले यसअघि दलका नेताहरूको मुख हेर्दिनँ भन्नुभयो नि, त्यो उहाँका लागि भारी भएको छ । अब उहाँले ती कुराहरू छाडेर मूलधारका दलहरूसँग सार्थक छलफल गरे चुनाव हुन्छ ।’
प्रधानमन्त्री कार्कीले गत महिना एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै ‘दलका नेताहरूको मुख हेर्दिनँ’ भनेकी थिइन् । उनको यो अभिव्यक्तिले ठूला दलका शीर्ष नेताहरू असन्तुष्ट छन् । ओली र पुष्पकमल दाहालले त प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति आपत्ति नै जनाए ।
तर, दाहालको दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चुनावमा जान तयार भएको छ । निर्वाचन आयोगमा चुनाव प्रयोजनार्थ सोमबार नै दल दर्ता गराएको छ । देउवा नेतृत्वको दल कांग्रेस पनि चुनावमा जाने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँगै अन्य साना दल र नयाँ दलहरू चुनावकेन्द्रित भइसके ।
एमालेचाहिँ औपचारिक निर्णय गरेर चुनावमा जान अन्कनाइरहेको छ । ठूलो जनाधार भएको दल एमाले चुनाव नगए चुनावी सुरक्षामा गम्भीर संकट पैदा हुन सक्ने चिन्ता पनि प्रकट भइरहेको छ । त्यसो हुँदा एमालेलाई विश्वासमा लिएर चुनावमा जानुपर्ने अर्का राजनीतिशास्त्री लोकराज बराल बताउँछन् । ‘प्रधानमन्त्रीले एमाले, कांग्रेसलगायत दलका नेतृत्वहरूसँग छलफल गर्नुपर्छ । कुनै ठूलो दल चुनावमा सहभागी नभए चुनावी सुरक्षामाथि गम्भीर संकट आउँछ । चुनाव बिथोलिन सक्छ,’ उनले भने ।
तत्काल प्रधानमन्त्रीले एमाले, कांग्रेस, नेकपालगायत सबै दलका नेतृत्वहरूसँग चुनावी छलफल गर्नुपर्ने उनको सुझाव छ । नभए चुनावी सुरक्षामाथि गम्भीर संकट आउँछ । चुनाव बिथोलिन सक्छ । बहुदलीय व्यवस्था कायम भएपछिका हरेक चुनावमा एमाले सहभागी हुँदै आएको छ । २०४८, २०५१, २०५६, २०७४ र २०७९ मा भएको प्रतिनिधिसभा र २०६४ तथा २०७० को संविधानसभा चुनावमा एमाले सक्रियरूपमा सहभागी भयो । यदि, यसपटक चुनावमा सहभागी नभए यो पहिलोपटक हुने छ ।