मुस्ताङ– हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो एक हजार ३०० रुपैयाँ छ । यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ रुपैयाँ एक हजार लगानी गरेर च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन सुरु गरेका थिए ।
हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन थालेपछि नेपाली र दलित समुदायका केही व्यक्तिहरु त्यहाँ पुगेका थिए । घरपझोङ–४ जोमसोमका ३० घरपरिवारले सामूहिक च्याङ्ग्रापालन गर्ने प्रस्ताव गरे । आयोजनाले सो प्रस्ताव पारित ग-यो र अनुदान सुनिश्चित गर्यो ।
पूर्णबहादुरसहित दलित समुदायका ३० घरधुरीले प्रतिघरधुरीका लागि तीन/तीनवटा च्याङ्ग्राको माउ (रमा) पाए । एक घरधुरीलाई च्याङ्ग्रा खरिद गर्दा लाभग्राही घरधुरीले एक हजार रुपैयाँ तिरेँ । बाँकी रकम उपआयोजनाले अनुदान सहयोग ग-यो । सुरुमा ३० घरधुरीका दलित समुदायले सगोलमा नै च्याङ्ग्रापालन गरे । तर, सामूहिक रुपमा च्याङ्ग्रापालन गर्न कठिनाइ भयो । कतिपय च्याङ्ग्राहरु हराउने र मर्न थाले । एक वर्ष नपुग्दै अनुदानमा खरिद गरिएको च्याङ्ग्राको सङ्ख्या घट्दै जान थालेपछि उनीहरुले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे । पूर्णबहादुरले सगोलबाट भागबन्डा गरी लिँदा भागमा दुईवटा पर्यो ।
पूर्णबहादुरको भागमा परेको दुईवटा च्याङ्ग्रामा १० वटा थपेर १२ वटा पु-याउनुभयो । त्यसपछि सुरु भयो पूर्णबहादुरको च्याङ्ग्रापालनको व्यवसायिक यात्रा । उनको च्याङ्ग्रापालन अहिले लोभलाग्दो छ । उनको फार्ममा हाल १३० बढी च्याङ्ग्रा छन् । यसै वर्ष मात्र पूर्णबहादुरले २० वटाभन्दा च्याङ्ग्रा ४० हजार रुपैयाँ मूल्यमा बिक्री गरे । उन भने,'पाल्न त धेरै पनि सकिन्थ्यो, तर हिउँचितुवा र अन्य वन्यजन्तुबाट बचाउन गाह्रो पर्छ ।'
उनले च्याङ्ग्रापालनका लागि एक जना गोठाले पनि राखेका छन् । उनीसँगै च्याग्रापालन सुरु गरेका ३० घरधुरीमध्ये हाल सात घरधुरीले मात्रै च्याङ्ग्रापालन गरिरहेका छन् । च्याङ्ग्रापालनको मुख्य उद्देश्य मल उत्पादन र पाठीपाठी उत्पादन गर्नु हो । हाल बर्सेनि २०० झोपा मल बिक्री गरी दुई लाख रुपैयाँ बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताए । पूर्णबहादरले भने,'मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ ।'
औसतमा वार्षिक पाँच लाख रुपैयाँ बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उनको छ ।