चितवन–आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व संकलन हुन बाँकी रहेको हो ।
कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको छ । उनले भने, 'बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ । ग्राहकहरू आउनुहुनेछ भन्ने विश्वास छ ।' कर संकलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडाअनुसार करदाताको सूची तयार गरेर पत्राचार गर्ने, संकलन भ्रमण गर्ने लगायतका कामहरू गरिएको उनले बताए । बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकमध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकामा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन् ।
यस कार्यालयले असोज मसान्तसम्म ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व विभागले तोकेको लक्ष्यको ९७ दशमलव ४७ प्रतिशत राजस्व उठाउन सफल भएको उनले बताए । उनका अनुसार विभागले ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । जेनजी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ । यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उनले बताए ।