घोराही- घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ ।
वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उहाँको अहिले दैनिकी बनेको छ । उनी घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताइन् । “पहिले आफूसँग पैसा नहुँदा अरुको भर पर्नुपर्दथ्यो, तर अहिले यसबाट आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरुसँग माग्नु पर्दैन”, उनले भनिन्।
आचार्यका अनुसार दुना टपरी बिक्रीबाट मासिक रु ६÷७ हजार आम्दानी भइरहन्छ । आचार्यले गाउँघरमा एक सय वटा टपरीलाई रु पाँच सयमा बिक्री गरिन्। बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उनको भनाइ छ । दुना भने एक सय वटालाई रु एक सय २० मा बिक्री गरिरहेकी छन् ।
वनमा सालको पात टिप्न श्रीमानले पनि साथ दिन्छन् । “शरीर बुढो हुँदै गएको छ, अरु काम गर्न गाह्रो हुन्छ, फुर्सदको समयलाई सदुपयोग गर्ने यो राम्रो अवसर भएको छ, पैसा पनि आउने समय कटाउन पनि सजिलो हुने”, आचार्यले भनिन् । उनले आफैले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताइन् । विशेष गरी चाड पर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उनको बुझाइ छ ।
अचार्य जस्तै घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान खुशीराम चौधरी पनि दुना टपरी उत्पादन गर्र्दै आएका छन् । ५१ वर्षिया शान्ति र ५७ वर्षिय खुशीरामले विसं २०६९ बाट दुना टपरी व्यवसाय गर्दै आएका हुन् । घरको काम सकेर बचेको समय यो व्यवसायमा उनीहरुको दैनिकी वित्ने गरेको छ ।
यहाँको साहारा दुना टपरी लघु उद्योगमा स्थानीय १० जना महिला दिदीबहिनीहरुले पनि नियमित रुपमा काम गर्दै आएका छन् । “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ”, उनले भने“अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ ।” तर बजारीकरणका लागि त्यति समस्या नहुने गरेको बताए । चौधरी दम्पतीले दुना टपरी बिक्रीबाट मात्रै मासिक रु १५ हजार कमाइरहेको उनको भनाइ छ ।
दुना टपरी आम्दानीको राम्रो स्रोत मात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ । टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ ।