वीरगञ्ज- नेपाल पर्यटन बोर्डको सहकार्यमा नाटा केन्द्र र नाटा मधेश प्रदेश द्वारा “पर्यटन प्याकेज निर्माण” सम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम सुरू भएको छ। प्रशिक्षण कार्यक्रम २०८२ असार ८ गतेदेखि १० गतेसम्म वीरगञ्जस्थित होटल मकालुमा हुने जनाइएकाे हो।
उक्त तालिमको उद्देश्य मधेश प्रदेशका पर्यटन व्यवसायी तथा सरोकारवालाहरूलाई बजारमैत्री र प्रभावकारी प्याकेज निर्माण गर्न सक्षम बनाउने अायाेजकले जनाएकाे छ ।
तालिममा पर्यटन विज्ञ विनय शाक्य र राम कुमार पुरीले प्रशिक्षण दिने भएका छन् । उनीहरूले प्याकेज डिजाईनका व्यवहारिक पक्ष, मूल्य निर्धारण, सेवाग्राहीको आवश्यकता, र स्थानीय पर्यटन स्रोतको सदुपयोग विषयमा अनुभव आदान–प्रदान गर्ने बताइएकाे छ ।
कार्यक्रममा नाटा वरिष्ठ उपाध्यक्ष जिश्वान तुलाधर श्रेष्ठ र नाटा मधेश प्रदेश अध्यक्ष मोहन शर्मा को सक्रिय उपस्थिति रह्यो। उनीहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै प्रशिक्षणको प्रभावकारिता र स्थानीय स्तरको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमको भूमिका उल्लेखनीय रहेको बताए।
नेपाल पर्यटन बोर्ड र नाटा मधेश प्रदेश सचिवालयले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।