काठमाडौं- सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा ३० हजार ८५ पर्यटक नेपाल आएका हुन्।
नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। बोर्डका अनुसार सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल भित्रिएका छन्।
यसबाहेक श्रीलंकाबाट सात हजार १०८, बंगलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानीस्तानबाट आठ पर्यटक नेपाल भित्रिएका छन्।
अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन्। चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण कोरियाबाट एक हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक नेपाल भित्रिएका हुन्।
युरोपेली मुलुकबाट १५ हजार १४८, ओसियाना मुलुकबाट पाँच हजार ४२२, अमेरिकी मुलुकबाट १० हजार १०७, मध्यपूर्व क्षेत्रबाट दुई हजार ६०६ र अफ्रिकाबाट चार हजार ५६८ पर्यटक नेपाल भित्रिएका छन्।
गत वर्षको सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बर महिनामा विदेशी पर्यटकको आवागमन संख्या बढे पनि गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण उल्लेख्य पर्यटक भित्रिन नसकेको बोर्डले जनाएको छ।