कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको पाइएको छ। दुई महिनामा दुबई-पोखरा-दुबई उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिनुले यो विमानस्थलप्रति यात्रीको आकर्षण बढेको ठानिएको हो।
फ्लाइ दुबईले गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म गरेको (दुई तर्फी१२२ उडान) दुबई-पोखरा-दुबई उडानमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या आठ हजार ११५ र यहाँबाट पाँच हजार ३५९ दुबई गएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटबाट विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा-दुबई उडानको सम्भावना बढाएको बताए।
उनले पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस मार्गमा यात्रुको सङ्ख्या बढ्न सक्ने बताए। नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्दा काठमाडौँस्थित भारतीय दूतावासबाट अनापत्ति प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ। यसका लागि दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए।
विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइ दुबईले पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान थालेको हो।