काठमाडाैं - गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगलको उपाध्यक्षमा पोर्तुगलका चर्चित व्यवसायी पेमा डोमा शेर्पाले उम्मेदवारी दिएकी छिन् । एनआरएनए पोर्तुगलको चुनाव ८ जुन २०२५ मा हुँदैछ । पेमा डोमा शेर्पाले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि अहिले उनको चर्चा पोर्तुगलको लिस्बोनको चिया पसलदेखि ठूलो बजारसम्म चर्चाको विषय बनेको छ ।
पेमा डोमा शेर्पाले यस अघि शेर्पा किदुक, पोर्तुगलको महासचिव भएर निकै राम्रो कार्यसम्पादन गरिसकेकी छन् । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका २ मा जन्मेकी पेमा डोमा शेर्पा केही वर्षदेखि पोर्तुगलको राजधानी लिस्बोनमा रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आइरहेकी छन् ।
‘सकेसम्म सबैलाई सहयोग गरौं भन्ने भावना’की पेमा डोमा शेर्पा अहिलेसम्म महिलाबाट नेतृत्व गरी उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने पहिलो शेर्पा महिला बन्न सफल भएकी छन् । उम्मेदवारी घोषणापछि उनले भनेकी छन्, ‘यो उम्मेदवारी मेरो मात्र होईन, सम्पूर्ण महिलाहरुको तर्फबाट हो । शेर्पा महिलाहरुको तर्फबाट हो । सगरमाथा जिल्ला भएको नाताले सम्पूर्ण शेर्पाहरुको शीर सगरमाथा जत्तिकै उच्च राख्ने मेरो चाहना छ ।’
पेमा डोमा शेर्पाको उम्मेदवारीले पोर्तुगलभरि रहेका नेपाली समुदायमा नयाँ उत्साह र सकारात्मक चर्चा ल्याएको बताईन्छ । महिलाहरु झन् बढी उत्साहित देखिन्छन् । आगामी निर्वाचनमा उनको जीत सुनिश्चित जस्तै मानिएको छ । नेपालमा रहँदा पनि शेर्पाले नुवाकोटमा ‘काउले इभ नेपाल’ गार्मेन्ट प्रोजेक्ट संचालन गर्नुका साथै फ्रेन्च बैंक्वुट होटल, काठमाडौंमा दुइ वर्षसम्म म्यानेजर भएर काम गरेको अनुभव छ ।
सन् २०१९ देखि आफ्नै ट्रेकिङ कम्पनी फ्रेण्डशीप अल्टरनेटिभ नेपाल एण्ड केएफ ट्राभल्र्स संचालन गरेका थिए भने एनजीओमा रहेर पनि ग्रामीण भेगमा लामो समयसम्म सेवा गरकी थिईन् । व्यावसायमा मात्र होईनन् अहिले उनीसँग सामाजिक संघसंस्थामा रहेर समाजसेवा गरेको लामो अनुभव समेत रहेको छ । शेर्पा किदुप पोर्तुगलको कौशल कार्यसम्पादनको अहिलेसम्म प्रशंसा हुने गरेका छन् ।