‘म जसरी भए पनि दिन्छु के । यो एक महिनामात्र हो । अर्को महिना त सावाँ ब्याजसहित तिर्छु ।’ रामशरण टिङटिङ गर्ने फोनमा कसैलाई भन्दै थिए । उताबाट के भने कुन्नि ? रामशरण अनुनय विनय गर्न थाले । ‘ल तपाईं आफैं भन्नुस् न, मैले आजका दिनसम्म तपाईंसँग गरेको कारोबारमा एक दिन तलमाथि परेको छ ? ज्यान जाला वचन मेरो जाँदैन ।’ बच्चाको भविष्यको कुरा छ नि निजी विद्यालयले भर्ना नगरी स्कुल नै छिर्न दिँदैन के गर्नु ? सरकारीको हालत देखिहाल्नु भो ।
सँगै बसेको छोरो मोहित सबै कुरा सुनिरहेको छ । आफूलाई बाबुले सरकारी विद्यालयबाट निजी विद्यालय भर्ना गरिदिन लागेकोमा खुसी पनि छ, अनि बाबुले अरुसँग भर्नाका लागि ऋण खोजिरहेको देखेर दुःखी पनि छ । मोहित धेरै नै सोच विचार गथ्र्यो । सात कक्षामा पढ्ने भए पनि उसले हरेक कुरालाई सूक्ष्म अध्ययन गर्दथ्यो । अनि त्यो भनेको के हो भनेर सोध्ने गर्दथ्यो ।
आफ्नो बाबुको कुरा सुनिरहेका मोहितले बाबुलाई भन्यो, ‘बा हुन्देऊ म स्कुल जान्न, कसैसँग ऋण पनि माग्नु पर्दैन ।’ जुन दिन स्कुल खुल्छ त्यही दिनबाट जाउँला । ऋण गरीगरी बोर्डिङ पढ्दिनँ । आखिर बोर्डिङ पनि त्यही सरहरुको हो रे !छोराको कुरा सुनेर रामशरणको आँखाबाट आँसु टिलपिल–टिलपिल गरिरहेको छ । उसले छोरालाई भन्छ– धत्, त्यस्तो कुरा पनि गर्छस्, स्कुल नगएर कसरी असल मान्छे बन्न सकिन्छ ? तिमी त असल मान्छे बन्नका लागि पो स्कुल जाने हो त !
‘हुन त हो बा तर के गर्नु बाले कोसँग ऋण मागिरहनुभएको छ । ऋण गरेर पढेर बाले कहिले तिर्नु ? कहिलेसम्म ऋणको भारी बोकिरहनु ? बरू म नै स्कुल जान्न ।’ रामशरण र मोहितका बाबुछोरा मात्र होइन । धेरैका घरमा अहिले यही नै कुरा हुन्छ । शिक्षाको उज्यालो छर्ने नाममा सरकारी विद्यालयमा हुने गरेको राजनीति अनि निजी विद्यालयमा हुने गरेको व्यापारले लाखौं अभिभावकको सपना चकनाचुर हुन पुगेको छ ।
‘हेर बाबु तिमीहरु भनेको भोलिको कर्णधार र भविष्य हौं, स्कुल जान्न भन्ने कुरा कहिल्यै पनि नगर्नू, तिमीहरुको पढाइका लागि हामी जस्तोसुकै कठिन अवस्था पनि भोग्न तयार छौं । हाम्रा बा आमाले पनि त हामीलाई निकै दुःख गरेर सक्दो गरेका हुन् नि । त्यही पढेर लेखेर संसार बुझेर असल मान्छे बन्नुपर्छ ।
मोहित ‘बुझें’ भन्दै टाउको हल्लाउँछ ।
रामशरण छोरालाई सम्झाइरहेको बेला त्यही बाटो हिँड्दै गरेका स्थानीय जनप्रतिनिधि दिनेश टुप्लुक्क आइपुग्छन् । र, भन्छन्– ओहो रामशरण दाइ के छ ? आज छोरालाई निकै राम्रो कुरा सिकाइरहनुभएको छ । सम्झाइरहनुभएको छ ।
के भो त्यस्तो ?
ए ! नमस्कार नमस्कार..., नेताज्यू पो हुनुहुँदो रहेछ । अनि कसरी हो आज यो बाटो ?
‘ह्या दाइ, नेता भनेर मलाई नभन्नु न हो । दाइलाई कत्ति भनिसकें मलाई नेता नभन्नुस् भनेर । म कहाँ नेता हुँ त नि, दाइहरुकै भाइ हुँ त । अब निर्वाचनमा उम्मेदवार बनियो दाइहरुले नै जिताउनुभो । दाइहरुले जिताएको अनि म कसरी नेता हुन्छु । म त सेवक हुँ नि दाइ ।
‘ओहो अंकल तपाईं कसरी सेवक ? चुनाव जितेका मान्छे त ठूलो मान्छे हुन् रे ! उनीहरुले भनेको सबैले मान्नुपर्छ रे नि त ? अनि बाबाले भनेको ठीकै त हो नि ।’ मोहितको कुरा सुनेर दिनेश दंग पर्छन् । बाबुले भनेको कुरा बेठिक त होइन । तर नेता भनेको जनताको सेवक नै हुनुपर्छ बाबु नत्र त नेता पनि शासक भैगो नि । तिम्रो बाबाले पढेर असल मान्छे बन्नुपर्छ भन्नु भो नि हो नेता पनि असल बन्नुपर्छ । ठूलो बन्ने होइन ।
‘त्यसो भए अहिले सबै स्कुल बन्द गरेर किन नेता बन्न गाका त ? हाम्रो स्कुलका सरहरु त सबै नेताजस्तै हुनुहुन्छ । यो पार्टी र त्यो पार्टी भन्नुहुन्छ !’‘हो, त्यही नै गलत भयो बाबु । अब त्यस्तो हुनुहुन्न भन्ने हो नि । सबैले आफ्नो पेसालाई मर्यादित बनाउनुपर्छ । राजनीति भनेको समाज सेवा हो । जनताको सेवक हो शासक बन्नु हुन्न शिक्षक त सबैभन्दा श्रेष्ठ हो । ऊ यो पार्टी र त्यो पार्टी भनिनु हुँदैन ।’
मोहितले दिनेशलाई जिज्ञासा राख्छ, ‘त्यसो भए किन हाम्रो स्कुलमा सर मिसहरु राजनीति गर्नु हुन्छ त ? पढाउने बेला पनि त्यस्तै त्यस्तै कुरा गर्नुहुन्छ । एउटा सरले एउटा राम्रो अरु नराम्रो भन्नु हुन्छ फेरि अर्को सर आउनुहुन्छ अर्को राम्रो भन्नुहुन्छ । अनि हामीलाई चाहिँ किताब पढ् भन्नुहुन्छ ।’‘मोहित बाबु तिमीले भनेको पनि ठीकै हो । तर असल शिक्षकले कहिल्यै पनि त्यसो गर्दैन । सबै शिक्षक कहाँ एउटै हुन्छन् र ?’ एउटा दुईटाले गर्दा सबै त्यस्तै जस्तो पनि लाग्छ ।’
‘हुन त हो दिनेश नेताज्यू । सरकारी विद्यालय तपाईं हाम्रो पालामा जस्तो कहाँ भए र ! त्यो बेलाको सरकारी स्कुलको शान ओहो ! कुरै नगरौं । शिक्षकहरुलाई कति मान थियो । भनेर साध्यै छैन । तर अहिले त सरकारी स्कुल भन्नेबित्तिकै यी यस्तै पारा छ । बरु भोकै बस्ने छोराछोरीलाई निजी विद्यालयमा नै बढाउनुपर्ने बाध्यता छ ।’
‘अब सुध्रन्छ दाइ तपाईं–हामी मिलेर फेरि सरकारी विद्यालयलाई पहिलेको जस्तै बनाउनुपर्छ । सरकारी स्कुल काम नै नलाग्ने त होइन नि । हेर्नुस् त कतिपय स्कुल निजी स्कुलभन्दा अब्बल छन् । सरकारी स्कुलमा भर्ना गर्न कत्ति प्रतिस्पर्धा गर्नुपर्छ । कति राम्रो नम्बर ल्याएका छन् सरकारी स्कुलका विद्यार्थीहरुले ।’
‘त्यो त हो नि । तर सयमा एकले ल्याएर के हुन्थ्यो । त्यस्ता सरकारी स्कुलका शिक्षकहरुको मिहेनत कति छ । सबै शिक्षकले आफ्ना नानीहरुलाई पनि त्यही पढाउँछ र पो राम्रो छ । अधिकांश शिक्षकका नानीहरु बोर्डिङमा पठाउने अनि आफूचाहिँ सरकारीमा जागिर खाएर राजनीति गर्ने ? त्यही भएर पो हो त बिग्रेको ।’
‘हो व्यारे अंकल, हाम्रो स्कुलमा पनि त्यस्तै छ । नपत्याए हाम्रो स्कुल हिँड्नुस त । राम सर स्कुल जाँदा आफ्नो नातिलाई बोर्डिङमा छाडेर जानुहुन्छ । त्यही भएर पनि बा म स्कुल जान्न !’
‘लऽ बाबु तिमी स्कुल जान्न भन्नु हुन्न तिमीजस्तो असल मान्छेले । धेरै पढेर सबै कुरा सधार्नुपर्छ । सबै मान्छे कहाँ एउटै हुन्छन् र ? ल तिमी स्कुल जान्छौं । तिमी पनि असल विद्यार्थी बन्ने म पनि असल सेवक बन्ने है त ? ल दाइ मैले के गर्नुपर्छ ? अरु कसैलाई गुहार्न पर्दैन । बाबु स्कुल जान्छ र असल मान्छे बन्छ । अहिलेलाई म गएँ ।’
दिनेश जान्छ । बाबु–छोरा मुखामुख गर्छन् !