हेटौँडा - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयतालाई दिगो र सबल तुल्याउन संघीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने बताएका छन् । आज मकवानपुरको हेटौँडामा आयोजित कार्यक्रममा उनलेप्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट न्यायोचित ढङ्गबाट गरिनुपर्ने आग्रह गरे ।
मुख्यमन्त्री यादवले आजै हेटौँडामा आयोजना गरिएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले संघीय सरकारलाई विभिन्न बुँदाको सुझावसहित प्रतिवेदन बुझाइने बताए । उनले जनतालाई संघीयता र गणतन्त्रप्रति जागरुक बनाउन तीनै तहका सरकार इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र नेपाल गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संघीयता र संविधानको मर्मअनुसार स्थानिय तहमा जनप्रतिनिधिलाई आफ्नो कार्यसम्पादन गर्न वर्तमान ऐन कानुनमा सुधार गर्नुपर्ने तथा संघीय सरकारले स्थानीय निकायलाई उपेक्षा नगरी प्रदेश सरकार र स्थानीय सरकारलाई समान तरिकाले बजेट बाँडफाँट गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।
यसैबीच तहगत ‘अधिकार कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमको समापनमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा सोमलाल सुवेदीले वित्तिय तथा आर्थिक क्षेत्र र संविधानविद् काशीनाथ दाहालले तहगत सरकारको अधिकार विभाजन, सार्वजनिक सेवा, वन वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, सातै प्रदेशका मुख्यन्याधिवक्ता, प्रदेश नीतियोजना आयोग र बागमती प्रदेशका प्रदेशसभा सदस्यको सहभागिता थियो ।