- - संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै
- - प्रधानमन्त्री दाहालले असोज ४ गते (२१ सेप्टेम्बर) महासभालाई सम्बोधन गर्ने कार्यक्रम
- - त्यहाँबाट प्रधानमन्त्रीको टोली असोज ५ गते चीन प्रस्थान गर्ने
- - चीनको हाङ्जाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री दाहालको भेटवार्ता हुने
- -१९औं एसियन गेमको समुद्घाटन समारोहमासमेत सहभागी हुने
- -सेप्टेम्बर २५ मा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम
काठमाडौं– नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाज आज संयुक्त राष्ट्रसंघको मुख्यालय प्रस्थान गर्दै छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।
उनले असोज ४ गते (२१ सेप्टेम्बर) महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज ३ (१९ सेप्टेम्बर)मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महŒवाकांक्षा शिखर सम्मेलनलगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटघाटका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहने बताए । परराष्ट्रमन्त्री साउद मंगलबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्युयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट सञ्चारमाध्यमबाटसमेत प्रतिनिधि रहने उनको भनाइ छ । त्यहाँबाट प्रधानमन्त्रीको टोली असोज ५ गते चीन प्रस्थान गर्नेछ ।
सदनलाई प्रधानमन्त्रीको जानकारी
प्रधानमन्त्री दाहालले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुपूर्व संसद्लाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन प्रयास गर्ने बताए ।
नेपालको प्रधानमन्त्रीको हैसियतमा आफ्नो यो तेस्रो चीन भ्रमण भएको उल्लेख गर्दै दाहालले कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताए । ‘नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमासमेत कुराकानी हुनेछ ।’
चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । संघीयता लागू भएपछिको दोस्रो आमनिर्वाचनपश्चात् बनेको सरकार प्रमुखको हैसियतमा आफूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् आगामी असोज ५ गते चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम तय भएको दाहालले जानकारी दिए । ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सीधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो,’ दाहालले भने ।
नेपाल र चीनबीच सदियौंदेखि सौहाद्र्रपूर्ण एवं अति घनिष्ट सम्बन्ध रहिआएको र हालैका वर्षमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ट बन्दै गएको उनको भनाइ छ । चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वांगीण विकासका प्रयासमा सहयोग गर्दै आएको उनले उल्लेख गरे । हाङ्जाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको जानकारी दाहालले दिए । प्रधानमन्त्री दाहाल १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । सेप्टेम्बर २५ मा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीले जानकारी दिए ।
भ्रमणका क्रममा कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई महŒवपूर्ण अवसरका रूपमा लिएको बताए ।
यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्धलगायत संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका साझा चासो एवं सरोकारका विषयहरूमा गहनरूपमा छलफल हुने उनको भनाइ छ ।
‘यस वर्षदेखि अल्पविकसित राष्ट्रको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चमा धारणा राख्नुपर्ने जिम्मेवारी हामीलाई आएको छ,’ प्रधानमन्त्री दाहालले भने ।