बारा- बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात पैदलयात्री पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ भदौ २५ गते राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। थप उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर लगिएकोमा सोही राति १०ः३५ बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। मृतकको हुलिया उचाइ करिब ५ फिट ६ इन्च, पातलो शरीर, दायाँ हातमा बाला लगाएको, कालो भेस्ट र निलो रङको पाइन्ट लगाएको तथा उमेर करिब २२/२३ वर्ष रहेको छ।
मृतकलाई चिन्नुहुने वा उनका आफन्तजनले जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
सम्पर्क नम्बरका लागि ९८५५०४८१०१, ९८५५०४५१०१, ९८५५०४५७६६ मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।