- वर्षापछिको पहिरोले मकवानपुर बागमती गाउँपालिका–५, सिक्रे दोभानको एक घर पुर्दा शान्तिमाया स्याङतानको मृत्यु
- ६ जना बेपत्ता भएकोमा १९ वर्षीय पासाङ घिसिङको करिब १२ घण्टापछि स्थानीयवासीले मंगलबार जीवितै उद्धार
- धनुषामा खोलाले बगाउँदा १४ वर्षीय बालक अजय यादवको मृत्यु, दुई जना बेपत्ता
- भारी वर्षात्का कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा डुबान
काठमाडौं– सोमबार राति परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । बाढी र पहिरोका कारण धनजनको क्षति हुनुका साथै विभिन्न सडक अवरुद्ध भएका छन् । राजधानी काठमाडौंका कतिपय स्थान डुबानमा पर्नुका साथै विभिन्न सडकमा पुलसमेत बगाएको छ ।
मकवानपुरमा एक जनाको मृत्यु, पाँच बेपत्ता
वर्षापछिको पहिरोले घर बगाउँदा मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानमा रहेको अक्कलबहादुर स्याङतानको घर बगाएकोे छ । पहिरोमा परी उनकी श्रीमती शान्तिमायाको मृत्यु भएको छ । साथै, छ जना बेपत्ता भएकामा १९ वर्षीय पासाङ घिसिङलाई भने करिब १२ घण्टापछि स्थानीयवासीले मंगलबार अपराह्न जीवितै उद्धार गरेका छन् ।
पहिरोले बगाएको घरभन्दा करिब चार किलोमिटर तल बागमती खोला किनार बगेरीमा पासाङलाई फेला पारेका थिए । घिसिङको शरीरभरि घाउचोट लागेको छ । सिन्धुली हरिहरपुर–१ घर भएका घिसिङ अक्कलबहादुरको घरमा सोमबार पाहुना लाग्न आएका थिए ।
मंगलबार बिहान ४ बजेतिर गएको पहिरोले अक्कलबहादुरको घर पहिरोले बगाएको थियो । पहिरो पुरिएको अवस्थामा अक्कलबहादुरको ५५ वर्षीय शान्तिमायाको उद्धार गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ ।
पहिरोमा परी अझै पाँच जना बेपत्ता छन् । बेपत्ता हुनेमा ५० वर्षीय अक्कलबहादुर, उनकी छोरी २२ वर्षकी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति मिलन र नातिनी दिव्या पहरी छन् ।
काठमाडौं जलमग्न
मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भयो । भारी वर्षात्का कारण काठमाडौं उपत्यकाका ढुंगेधारा, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।
यसैगरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको थियो । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको थियो ।
बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेका थियो । यसैगरी भक्तपुर ललितपुरका विभिन्न क्षेत्र पनि डुबानमा परेको थियो ।
बनेपाको पुलबजार पनि डुबान
काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र पनि डुबानमा पर्यो । पुण्यमाता खोलामा आएको बाढीले पुल बजार क्षेत्र डुबानमा परेको हो । अघिल्ला वर्षहरुमा झैं बाढीले खोलाको सतह पार गर्दा सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।
बजारका सडक आसपासका घर–पसल जलमग्न भए । बाढीले राति ३ बजेदेखि नै सडक अवरुद्ध बनाएको थियो । बाढीले सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग र बिपी राजमार्ग चल्ने सवारीसाधन र यात्रु प्रभावित भएका थिए ।
नारायणी नदी सतर्कता तह माथि
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता बिन्दु पार गर्यो । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता बिन्दु पार गरेको हो । देवघाटको जलमापन केन्द्रका अनुसार नारायणी नदीमा ७.३४ मिटर पानीको सतह पुगेको थियो । देवघाटमा ७.३ मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनायो । नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ ।
खोलाले बगाउँदा एक जनाको मृत्यु
धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो । स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा बालकको मृत्यु भएको हो । बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए । खोलामा बालक डुबेको खबर पाउन साथ घटनास्थल पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरी टोलीले उनको उद्धार गरेको थियो ।
उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।
त्यसैगरी धनुषामा कमला नदीको बाढीले बगाउँदा एक महिला एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार छन् । कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा उनीहरुलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।
म्याग्दीका मुख्य सडक अवरुद्ध
म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । अविरल बर्सातका कारण सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामीण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनेको बताए । बेनी–जोमसोम र बेनी—दरवाङ म्याग्दीका प्रमुख सडक हुन् ।
सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्व
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड अवरुद्व भयो । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंगलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो । सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको क्षेत्रीले बताए । ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।
बिपी राजमार्ग एकतर्फी सञ्चालनमा
बाढीले पुल बगाउँदा अवरूद्ध वीपी रागमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । रोशी–११ भ्याकुरे खोलामा अबरुद्ध भएको सडक लगातार ६/७ घण्टाको निरन्तर प्रयासपछि वीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
कति क्षति ?
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बाढीपहिरोका कारण हालसम्म कूल ११ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।बाढीपहिरोको घटना तथा क्षति भएका विषयमा जानकारी आइरहेको र कतिपय ठाउँका मुख्य राजमार्ग पुनः सञ्चालनका लागि पहल भइरहेको प्रवक्ता तथा सहसचिव भट्टराईले बताए ।