काठमाडौं– एक सय किलो भनिएको सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेपछि सोमबार काठमाडौं जिल्ला अदालतबाट पहिलोपटक म्याद मिलान गरिएको हो ।
राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएको थियो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले म्याद मिलानपछि सोमबारै उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सिआइबीलाई अनुमति प्राप्त भएको जनाए ।
‘आज म्याद मिलान गरी आजै सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति प्राप्त भएको छ, अब अनुसन्धान टोलीले मिसिल अध्ययन गर्दै थप अनुसन्धानको काम अघि बढाउने छ,’ प्रवक्ता कडायतले भने । सिआइबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गर्न टोली गठन गरेको छ ।
आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले सोमबारदेखि अनुसन्धान थालेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि अनुसन्धान गर्ने जिम्मा सिआइबीले लिएको हो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी सय किलो सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण यकीन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।
सुनकै कारण भाँडभैलो
सुन जफत भएको तीन हप्ता पुग्नै लागेको छ । तर सुन कसले र किन ल्यायो भन्ने विषयमा अझै भेउ पाउन सकेको छैन सरकारले । राजस्वले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट बरामद गरेको सुनका कारण संसद् अवरुद्ध छ । सुन तस्करी प्रकरणकै कारण अवरुद्ध सदन सोमबार पनि बस्न सकेन । सुन प्रकरणमा संलग्नको आरोपमा विभागले १७ जनालाई हिरासतमा राखेको छ । राजस्व अनुसन्धानले ९० दिनसम्म हिरासतमा राखेर आरोपीविरुद्ध अनुसन्धान गर्न पाउने अधिकार कानुनले दिएको छ ।