मेलम्ची –नेपाली कांग्रेस वाग्मती प्रदेशका सदस्य एवम् पूर्व प्रदेशमन्त्री निमा लामाले सिन्धु कांग्रेसका दिवंगत पूर्व सभापति विकास लामाबाट आफू प्रभावित भएको बताएका छन् । दिवंगत लामाको सम्झनामा सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको श्रद्धाञ्जी सभामा उक्त भनाई राखेका हुन् ।
२०५१ मा हेलम्बु गाउँपालिकाको सेर्माथाङमा आयोजित प्रशिक्षण कार्यक्रमबाट विकास लामासँग आफू जोडिन पाएको पूर्वमन्त्री लामाले बताए । त्यतिबेला कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, विशेष अतिथिका रुपमा विजयकुमार गच्छदार र जिल्ला नेताहरु मोहन बस्नेत र विनोद मोक्तानलगायतका उपस्थित थिए। कार्यक्रम चलाउने कोही नभएपछि त्यतिबेला विकास लामाले कार्यक्रम चलाएको देखेर आफू प्रभावित भएको उनले बताए।
त्यसयता आफ्नो स्वास्थ्यको ख्याल नगरी विकास लामा पार्टीको कार्यक्रममा खटेको उनको भनाई रह्यो। विकास दाइ कहिले पनि स्वार्थमा लिप्त हुनु भएन। पार्टीको संगठन मजबुत बनाउन सदैव लाग्नुभयो आफ्नो स्वास्थ्यको ख्याल नगरी,पूर्वमन्त्री लामाले भने।
विकास लामाले संगठन मजबुत बनाएकै कारण कांग्रेसले कहिले पनि नजितेको ठाउँमा आफू जित्न सफल भएको पूर्वमन्त्री लामाको भनाइ रह्यो। २०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा को निर्वाचनमा एमाले ,माओवादी (बाम गठबन्धन) गरेर चुनावी मैदानमा उत्रिएको थियो। त्यही चुनावमा पूर्वमन्त्री लामा सिन्धुपाल्चोक क्षेत्र २ प्रदेश सभा ख मा कांग्रेस बाट उम्मेदवार थिए। पूर्वमन्त्री लामाले नै कांग्रेसलाई जिल्लाबाट क्लिन स्वीपु हुन रोकेका थिए। वामगठबन्धनका उम्मेदवार दावा तामाङलाई पराजित गर्दै लामा निर्वाचित भएका थिए।
लामाले आफू प्रदेश सरकारमा हुँदा सिन्धुपाल्चोक बिपी स्मृति भवनका लागि २५ लाख बिनियोजन गरेकोसमेत बताए ।कार्यक्रममा कांग्रेसका जिल्ला सभापति जंगबहादुर लामाले स्व विकास लामाजस्तो इमान्दार नेताको कारण सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको बताए। सभापति लामाले आफू विकास लामाको चेला भएको बताए।
यता महासमिति सदस्य राजु गोर्खाली (राजेन्द्र) ले विकास लामा एक सच्चा र जनप्रिय नेता भएको बताए। गोर्खालीले अब यस जिल्लामा विकास लामाजस्तो नेता पाउन कठिन हुनसमेत जिकिर गरे। यता प्रदेश सांसद कृष्णकुमार तामाङ समीरुले दिवंगत विकास लामाले स्थानीय तहदेखि केन्द्रीय तहसम्मको निर्वाचनमा सक्रिय भूमिका खेलेर धेरै भोट ल्याउन सफल भएको बताए। लामाले सबैलाई समान व्यवहार गरेको स्मरण गराउँदै गुटगत काम केही नगरेको धारणा राखे। कार्यक्रम क्षेत्रीय सभापति आइतमान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो। लामाको गत असार ९ गते निधन भएको थियो।