तनहुँ – तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो ।
जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन । यसमध्ये ४३ गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा।बालकुमार श्रेष्ठले जानकारी दिए ।
प्रमुख डा।श्रेष्ठले भने, ‘खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ । गोरुको विकल्प ट्याक्टर भए पनि कतिपय किसानले ट्याक्टर किन्न सक्ने अवस्था छैन ।’
उनका अनुसार लम्पी स्किन संक्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुनसक्ने देखिएको छ । ‘लम्पी स्किन संक्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ’, प्रमुख डा।श्रेष्ठले भने ।
लम्पी स्किनविरुद्ध जिल्लामा दश हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ । स्थानीय तहको समन्वयमा लम्पी स्किन संक्रमणबाट बचाउन दश हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए ।
प्रमुख डा।श्रेष्ठले भने, ‘यो खोप संक्रमित भएको पशुलाई नभई संक्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो ।’ सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ । व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ । खोप लगाउनका लागि स्थानीय तहले आफैँ खरिद गरेका थिए ।
नगरपालिकाले कृषकको गोठमै पुगेर खोप लगाइदिएको नगरपालिकाका पशुपन्छी विकास उपशाखा प्रमुख डा।मनोज विश्वकर्माले जानकारी दिए ।
पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले बताए ।
उक्त रोगबाट धेरैजसो व्यास नगरपालिका(१ चारकुने, व्यास नगरपालिका(१३ बेलबास, पोखरीभज्याङ, व्यास नगरपालिका(११ फराकचौर र व्यास नगरपालिका(७ मा गाईभैँसी संक्रमित भएका थिए ।
जिल्लाको म्याग्दे गाउँपालिकाले दुई हजार गाईभैँसीलाई उक्त खोप लगाएको छ । गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाएको पशु सेवा शाखा प्रमुख डा।विनय शाहको भनाइ छ ।
उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो । शाखा प्रमुख डा।विनय शाहले भने, ‘व्यावसायिक रुपमा गाईभैँसीपालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाएका छौँ ।’
पहिलो चरणमा दुई हजार खोपको मात्रा आएकाले सोहीअनुसार खोप लगाइएको र आवश्यक परे थप खोप खरिद गरिनेछ । भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन । अन्य पालिकामा भने सहजरुपमा खोप लगाइएको छ । रासस