काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडका डीसीईओ महेश शर्मा ढकालविरुद्ध महिला हिंसाको आरोप लागेको छ । उनीविरुद्ध सोही बैंककी ऋणी शान्ता बूढाथोकीले उजुरी दिएकी हुन् ।
उनले बैंकमा रहेको कार्यकक्षमै आफूमाथि महिला हिंसा गरेको उजुरीमा उल्लेख गरेकी छन्। ती पीडित महिलाले महिला राष्ट्रिय आयोगमा गत असार ३ गते उजुरी दर्ता गराएकी हुन् ।
बैंक मर्ज हुनु अघि स्वीकृत कर्जा प्रवाहको कुरा गर्न बैंकको शाखा उत्तरढोकामा कुरा गर्न जाँदा डीसीईओ शर्माले गत चैत्र २९ गते आफूमाथि अभद्र व्यवहार गरेको पीडित महिलाले उल्लेख गरेकी छन् ।
उनले उजुरीमा लेखेकी छन्,
‘साबिक नेपाल इन्भेष्टमेन्ट बैंकबाट मैले ताकिन्जो इन्डस्ट्रिज प्रालि, डाइमी ट्रेडिङ प्रालि र हामीनिट इन्डस्ट्रिज प्रालि नामक कम्पनी सञ्चालन गरी आई उक्त बैंकबाट कारोबार गरी मेरो व्यवसाय गरी आएकोमा साबिक इन्भेष्टमेन्ट बैंकसँग करिब ६५ करोड रुपैयाँबराबरको कारोबार रहेको छ ।
'मैले सञ्चालन गरी आएको कम्पनीको कारोबारलगायत मेरो कर्जा नियमित गर्दै आएको छु’, ‘नेपाल इन्भेष्टमेन्ट बैंकबाट पहिलो पटक आठ करोड ७८ लाख ९५ हजार रुपैयाँ सामान निर्यात गर्ने प्रयोजनको लागि र सोपश्चात् चार करोड स्थिर सम्पत्तिमा खरिद लगानी गर्ने प्रयोजनको लागि ऋण स्वीकृतपश्चात् नेपाल इन्भेष्टमेन्ट बैंक र मेघा बैंक मर्जरको प्रक्रियामा रहेको कारण कर्जा प्रवाह भने भएको थिएन ।’ उल्लिखित दुवै बैंकहरू एक–आपसमा मर्ज भएपछि विपक्षी अन्यायीवाला महेश शर्मा ढकाल नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएर आएकाले निजलाई सम्पर्क गरी भएको व्यहोरा अवगत गराउने विचार राखी निजलाई कार्यकक्षमा प्रवेश गर्दाको अवस्थामा तपाईं मसँग सम्पर्कमा रहिरहनुहोला भनी आश्वासन दिएको हुँदा निजको विश्वासनमा परी मिति २०७९/१२/२९ गतेको दिन अन्दाजी २ बजेको समयमा निजको कार्यकक्षमा जाँदा तपाईंको कर्जा चाँडै स्वीकृत हुँदै छ त्यसको लागि मैले भनेको काम गर्नु पर्दछ भनी म बसेको ठाउँमा नजिक आई गलत मनसायले अभद्र व्यवहार गरेकोले किन यस्तो प्रकारको कार्य गर्न खोज्नुभएको हो, यस्तो गलत कार्य नगर्नुहोस् ।तपाईंजस्तो ओहोदामा बसेको व्याक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भनी भन्दा मैले भनेको नमानेमा तिम्रो काम हुँदैन, हामीसँग सम्पर्क नबढाएमा अर्थात् हामीले बोलाएको स्थानमा नआई हामीले भनेको नमानेमा जे पनि हुनसक्छ भनी धम्कीपूर्ण भाषा प्रयोग गरी गालीगलौज समेत गरी अभद्र व्यवहार गरेको भएको हुँदा विपक्षी महेश शर्मा ढकाललाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरी हदैसम्मको सजाय गरीपाऊँ ।’

