काठमाडाैं - हवाई क्षेत्र र मौसमसँग सम्बन्धित क्षेत्रमा कलम चलाउने पत्रकारहरूका लागि पहिलो तालिम सञ्चालन भएको छ ।
मिडिया एकेडेमी नेपालको आयोजनामा हवाई क्षेत्र र मौसमसँग सम्बन्धित क्षेत्रमा कलम चलाउने पत्रकारहरूका लागि पहिलो तालिम दिँदै बिट पत्रकारिताको तालिमलाई सुचारु गरेको हो ।
नागरिक उड्डयन प्राधिकरण, प्रेस काउन्सिल नेपाल र वायु सेवा सञ्चालक संघको सहकार्यमा मिडिया एकेडेमी नेपालले आयोजना गरेको सो तालिम आइतबारदेखि सुरु भएको हो ।
अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष तथा क्याप्टेन रामेश्वर थापाको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रमको पहिलो दिन जहाजको विकासका बारेमा नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले प्रशिक्षण गरेकाे थिए ।त्यस्तै कार्यक्रमको दोस्रो दिन पाइलट विनोद पुरिले जहाजको बनावट र विशेषताबारे प्रशिक्षण गर्नुभएको थियो । सोही दिन दोस्रो सत्रमा नागरिक उड्डयन प्राधिकरणका सेफ्टि साखा प्रमुख राजु श्रेष्ठले जहाजको सुरक्षाबारे प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रमको तेस्रो दिन हवाई क्षेत्रका विज्ञका रूपमा परिचित मेहेन्द्र कुमार श्रेष्ठले जहाजलाई कसरी सुरक्षित राख्ने र के के कारणले जहाज दुर्घटना हुन्छ भन्ने शीर्षकमा प्रशिक्षण दिएका हुन् ।
त्यस्तै भने सोही दिनको दोस्रो सत्रमा उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले जहाजको राष्ट्रिय अन्तर्राष्ट्रिय नियमन संस्थाहरूको विषयमा प्रशिक्षण गरेका छन् ।
तालिम थप ४ दिन सञ्चालनमा रहने छ ।मिडिया एकेडेमी नेपालले मिडिया सम्बन्धी विभिन्न कार्यशाला, गोष्ठी, प्रदर्शनी र खोज अनुसन्धानका कामहरू गर्दै आइरहेको छ ।
हवाई तथा मौसमका विषयमा पत्रकारहरूमा देखिएको अस्पष्टतालाई परास्त गर्ने योजनाका साथ आयोजना गरिएको सो तालिममा ६२ जना सञ्चारकर्मीहरू सहभागी रहेको मिडिया एकेडेमी नेपालका निर्देशक डम्बर शाहुले जानकारी दिएका छन् ।