काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षितरूपमा आश्रय लिइरहेका छन्। बाढीपछि हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको उनले जानकारी दिए।
तीमध्ये ९८ जनाको सनाखत गरी शव आफन्तलाई बुझाइएको प्रवक्ता महतले जानकारी दिए। अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा बढी रसुवाबाट दुई हजार ८६० र नुवाकोटबाट एक हजार ९८१ जना छन्। बाँकी नेपाली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका उनले बताए।
बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ८२७ जनाले प्राथमिक उपचार सेवा लिएका छन्। प्राधिकरणका अनुसार विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकामा २४२ जना उपचारपछि डिस्चार्ज भएका छन्। नेपाली सेनाबाट तीन हजार ४०४ जना र सशस्त्र प्रहरीबाट तीन हजार ९६ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।
बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्।
भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सक्रिय छन्।
प्राधिकरणका अनुसार सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई समन्वयात्मकरूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ।