काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) अघिल्लो वर्षको तुलनामा करिब २३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको पाइएको हो ।
प्रतिवेदनअनुसार जेठ मसान्तसम्म कूल ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च दरमा बढेको छ । जसले रेमिट्यान्स आप्रवाह बढाउन भूमिका खेलेको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार ४१५ पुगेको तथ्यांक छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.८३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा भित्रिएको विप्रेषण साउनदेखि जेठ मसान्तसम्मको अवधिमा आठ अर्ब ५१ करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।
चैतमा सबैभन्दा धेरै, साउनमा न्यून
चालु आर्थिक वर्षको चैत महिनामा सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चैतमा एक खर्ब नौ अर्ब सात करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । त्यसपछि वैशाखमा केही घटे पनि जेठमा फेरि सुधार आएको तथ्यांक छ । वैशाखमा एक खर्ब एक अर्ब ७९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएकोमा जेठ महिनामा करिब छ अर्ब रुपैयाँले बढेर एक खर्ब सात अर्ब ३४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्षको सुरुआती महिना अर्थात् साउनमा सबैभन्दा कम ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । भदौमा ९४ अर्ब ८३ करोड, असोजमा ९४ अर्ब एक करोड, कात्तिकमा ९६ अर्ब ९९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । मंसिर महिनापछि भने यस्तो रकम मासिक एक खर्ब नाघेको तथ्यांक छ । मंसिरमा एक खर्ब दुई अर्ब ४६ करोड रुपैयाँ, पुसमा एक खर्ब चार अर्ब ५८ करोड, माघमा एक खर्ब चार अर्ब ८० करोड, फागुनमा एक खर्ब चार अर्ब ४४ करोड बराबर रेमिट्यान्स भित्रिएको छ ।
यसरी चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्सबापत भित्रिने रकम उत्साहजनक रुपमा बढेर ११ खर्ब १२ अर्ब रुपैयाँ पुगेको हो । यद्यपि, यो रकम वैधानिक च्यानल अर्थात् बैंकिङ च्यानलमार्फत भित्रिएको मात्रै हो । यसबाहेक हुण्डीलगायत अवैधानिक बाटोबाट समेत ठूलो रकम भित्रिने गरेको छ । राष्ट्र बैंकले अवैधानिक च्यानलबाट रकम भित्रिन नदिन विभिन्न अभियान चाल्दै आए पनि त्यस्तो कार्य रोकिएको छैन । विदेशबाट त्यसरी रकम पठाउने व्यक्तिले जोखिम मोल्नुपर्छ भने राज्यकोषमा जम्मा हुने करसमेत गुमिरहेको हुन्छ ।
सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको तथा वैदेशिक अनुदानको रकमसमेत घट्दा अर्थतन्त्रमा परेको समस्यालाई बढ्दो रेमिट्यान्सले ठूलो राहत दिएको छ । मुलुकको अर्थतन्त्रको करिब २५ प्रतिशत हिस्सा रेमिट्यान्समा निर्भर रहेको छ । यसरी रेमिट्यान्समा निर्भर रहनु राम्रो नभएको अर्थविद्हरुको भनाइ छ ।
मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा दैनिक करिब दुई हजारको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा गइरहेको तथ्यांक छ । यसरी विदेशिने श्रमिकहरुले पठाउने रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्र धानिरहेको छ । सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने बताए पनि राजनीति अस्थिरता कायमै रहँदा त्यो सम्भव हुन सकेको छैन । जसले गर्दा बाध्यात्मक रुपमा विदेशिने क्रम रोकिने छाँट तत्काल देखिँदैन ।