वान एक्स बेट हाम्रोमा गैरकानुनी हो । यो अनलाइन जुवा हो । खेल्न खेलाउन पाइँदैन । खेलेमा जुवा ऐन र राष्ट्र बैंक ऐन कसूर यसमा आकार्षित हुन्छ ।-
रवीन्द्र रेग्मी,प्रहरी प्रवक्ता
काठमाडौं - अनलाइन जुवा ‘वान एक्स बेट’को प्रवद्र्धन गरेको आरोपमा प्रहरीले केही कलाकार र युट्युबरलाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले हास्य टेलिशृंखला मेरी बास्सैबाट चर्चामा आएका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ देखि बेगम नेपाली ‘भटभटे माइला’सम्मलाई पक्राउ गरेको हो ।
प्रहरीको नियन्त्रणमा पर्नेमा प्र्यांक गर्दै चर्चामा आएका एलिस राईदेखि विभिन्न भिडियो जोडेर समसमायिक हास्यस्पद भिडियो बनाउने जलन घर्तीमगरसम्म छन् ।प्रहरीका अनुसार अनलाइन जुवा प्रवद्र्धनमा प्रोत्साहन गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
‘वान एक्स बेट हाम्रोमा गैरकानुनी हो । यो अनलाइन जुवा हो । खेल्न, खेलाउन पाइँदैन । खेलाउने र खेल्नेबीचमात्र हैन । यो खेल्नलाई प्रोत्साहन गर्ने मान्छेहरुको पनि उस्तै हात हुने हाम्रो अनुसन्धानमा देख्यो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले भने, ‘यसैले वान एक्स बेटको प्रमोसन गर्नेहरुको पनि अनुसन्धान गरिरहेका थियौं । र, यसको आधारमा हामीले आठ जनालाई पक्राउ गरेका छौं । जसले विभिन्न माध्यमबाट वान एक्स बेटलाई प्रमोसन गर्ने प्रोमोकोेडहरु राखेर प्रमोसन गरेका थिए ।’
पक्राउ पर्नेमा ‘म्याकुरी’देखि ‘राजु मास्टर’सम्म
वानएक्सबेट प्रकरणमा बल्छी धुर्वेका नामले चिनिने मरिचमान श्रेष्ठ, म्याकुरीका नामले चर्चित पवन खतिवडा, राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बूढो), बेगम नेपाली (भटभटे माइला), एलिस राई पक्राउ परेका छन् ।
त्यस्तै, चर्चित युट्युबर जलन घर्तीमगर, गणेश देवकोटा पनि प्रहरी हिरासतमा छन् । आफ्नो युुट्युब भिडियोमा वानएक्स बेटको प्रोमो राखेर प्रचार गरेको पाइएपछि कलाकारहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘उनीहरुले प्रमोसन गरेबापत वान एक्स बेटबाट निश्चित कमिसन प्राप्त गर्ने हाम्रो अनुसन्धानबाट देखिन्छ । बेटिङमा प्रमोसन गर्नेहरु सेलिब्रेटी स्टाटस भएकाहरु, धेरै भ्युज र सुन्ने मान्छे भएका कारणले यति धेरै मान्छे प्रोत्साहित हुन्छन्,’ कार्यालयका एसपी रेग्मीले भने, ‘धेरै सब्स्क्राइबर र भ्युज भएकाले जुवा खेल्नेहरुले पनि सेलिब्रेटी स्टाटस भएकालाई प्रयोग गर्छन् ।’ पक्राउ परेका कलाकारहरुलाई जिल्ला अदालत काठमाडौंले चार दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न समय दिएको छ ।
६४ करोडको कारोबारी प्रहरीको नियन्त्रणमा
प्रहरीले बुधबार कैलालीका ३० वर्षे दिनेश खड्कासहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो । नेपालबाटै अनलाइन जुवादेखि क्रिप्टो कारोबार गर्ने मुख्य व्यक्तिमध्येका दिनेश एक भएको प्रहरीको दाबी छ । विभिन्न बैंक खाताबाट खड्काले विभिन्न समयमा ६४ करोड रुपैयाँको कारोबार गरेको तथ्य भेटिएको प्रहरीको तर्क छ ।
खड्काले रामविलास थारु, तेजबहादुर कठायत, नविन चौधरी, अनिता धितालको कागजपत्र प्रयोग गरेर ६३ वटा बैंकमा खाता खोलेको अनुसन्धानमा देखिएको छ । खड्काले यसरी १२ वटा बैंकबाट ६४ करोडको कारोबार गरेको देखिएको प्रहरीले जनायो ।
खड्कासँगै उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी–४ बस्ने २७ वर्षीय दीपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागार्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने पनि पक्राउ परेका छन् ।
दीपेशले पाँच करोड ५४ लाख ६६ हजार रुपैयाँ, दिनेश चन्दले प्रभु बैंकबाट ४५ लाख र आशिष लामिछानेले विभिन्न बैंकको खाताबाट दुई करोड ९८ लाख ९६ रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको छ । उनीहरुसँग ७४ करोड १३ लाख ५० हजार रुपैयाँको कारोबार भएको देखिएको छ ।
दुई महिनाको लामो अनुसन्धान र फलोअपपछि खड्काको टोली पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए । यसअघि प्रहरीले गत २७ मंसिरमा २० वर्षीय आदर्श ठाकुरलाई वान एक्स बेटको साट्टेबाजको आरोपमा पक्राउ गरेको थियो ।
प्रहरीले उनको बैंक खाता अनुसन्धान गर्दा दुई करोड रुपैयाँ रकम फेला परेको थियो । गत चैतमा वान एक्स बेटमा ४१ करोड रुपैयाँ कारोबार गरेको अभियोगमा अपराध अनुसन्धान कार्यालयले छ जनालाई पक्राउ गरेको थियो ।
जितिँदैन सट्टेबाजमा, हारेपछि कमिसनको लोभमा बन्छन् एजेण्ट
नेपालमा विभिन्न समयमा यस्तो सट्टेबाजहरु सक्रिय रहँदै आएका छन् । विशेषगरी विश्वकपका समयमा सट्टेबाजहरु सक्रिय देखिन्छन् । प्रहरीकाअनुसार ‘बेटिङ एप्स’मा विभिन्न तहका ‘एजेण्ट’ हुन्छन् । उनीहरू सधैं नयाँ ‘एजेण्ट’को खोजीमा हुन्छन् ।
जुवा खेलाउने मूल कम्पनीबाहेक अरुले यो खेलमा जित्न सक्दैन । सहभागीले जहिल्यै हार्छन् । अनि सबैभन्दा धेरै हारेकालाई उनीहरूले ‘एजेण्ट’ बनाउन प्रेरित गर्छन् । २५ प्रतिशतसम्म कमिसन पाउने प्रलोभन दिएर उनीहरूले नयाँ ‘एजेण्ट’लाई प्रेरित गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार नयाँ ‘एजेण्ट’लाई काम गर्न सिकाउन मुख्य ‘अपरेटर’ले सामाजिक सञ्जालमार्फत एक सातासम्म ‘भर्चुअल’ तालिम नै दिन्छन् । यस खालको सट्टेबाजमा ‘क्रिप्टोकरेन्सी’ पनि प्रयोग हुने गरेको देखिन्छ ।