मुस्ताङ- हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदै छ।
सम्मेलनमा आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए। सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुने छ।
जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’को तयारी गरिएको हो।
सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग पुर्याइरहेका छन्। सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिम प्रदेशबाट ६६ वटा स्थानीय तहले नाम टिपाएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गरे।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताए। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नेछिन् । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुने छ।