काठमाडौं- यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनाका टनेलमा फसेकाहरुको खोज तथा उद्धार प्रयास जारी छ। नेपाली सेनासहितको संयुक्त उद्धार टोली उक्त कार्यमा निरन्तर लागिरहेको छ।
नेपाली सेनाका अनुसार उक्त क्षेत्रमा गएको पहिरो तथा विपद्पछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
आयोजनाका प्रतिनिधि, नेपाली सेना, विदेशी प्राविधिक तथा उद्धार टोलीको संयुक्त संलग्नतामा टनेल, पावरहाउस तथा आसपासका प्रभावित क्षेत्रमा उद्धार कार्य जारी राखिएको छ।
चिलिमे हाइड्रोमा उद्धार टोलीले एक्साभेटर र लोडरको प्रयोग गरी हालसम्म टनेल क्षेत्रबाट करिब १०० मिटर गेग्रान पन्छाइसकेको सेनाले जनाएको छ। टनेलभित्र पानी भेटिएकाले सो पानी पम्प गरेर फाल्ने काम भइरहेको र उद्धारकर्ताहरू डोरीको सहायताले टनेलभित्र छिर्ने प्रयास गरिरहेका जनाइएको छ। साथै, स्याफ्रूबेसीबाट धुन्चेसम्मको स्थलमार्ग सम्पर्क जोड्न खोला वारपार गर्ने तुइन जडान गरिएको सेनाले जानकारी दिएको छ।
लाङटाङ जलविद्युत आयोजनामा टनेलभित्र जोखिमयुक्त स्थानहरूमा खोजी गर्न विदेशी प्राविधिकहरूले अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरेका छन्। तर हालसम्म कुनै संकेत वा वस्तु फेला पर्न सकेको छैन।
त्रिशूली ३ 'बी'मा नेपाली सेनासहितको संयुक्त टोलीले भारी उपकरण (एक्साभेटर र ब्याकहोइ लोडर) को प्रयोग गरी आयोजनाको आवास गृह, कार्यालय भवन र टनेल इलाकाको खोजी कार्य सम्पन्न गरेको सेनाले जनाएको छ।
'टोलीले अब आफ्नो खोजी पावर हाउस क्षेत्रतर्फ केन्द्रित गरेको छ। अन्य आयोजनाहरू: रसुवागढी, माथिल्लो त्रिशूली-१ तथा त्रिशूली ३ 'ए' जलविद्युत आयोजनाका टनेल र पावरहाउस क्षेत्रमा पनि नेपाली सेना र आयोजनाका प्रतिनिधिको संयुक्त टोलीले निरन्तर खोजी कार्य जारी राखेका छन्।
उद्धार टोलीहरूले प्रतिकूल परिस्थितिका बाबजुद पनि उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्,' नेपाली सेनाले भनेको छ।



तस्बिर सौजन्य: नेपाली सेना