राँझा (बाँके)- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसेलीका रुपमा घरघरमा पुगेको छ।
नेपालगञ्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहेकी प्रकृति रानाले तीजमा खान, साथीसंगी तथा आफन्तकहाँ जाँदा कोशेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको प्रतिक्रिया दिइन्।
“सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगञ्जबाट अन्यत्र जाँदा तीजमा कोसेलीका रुपमा लैजाने सहज भएको छ,” उनले भनिन्, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तो भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ।”
आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१९ का ध्रुव थापाले यस वर्षको तीजमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताए।
स्थानीय धम्बोझी चोकमा तीजलाई लक्षित गरेर केही दिनयता कर्णालीको स्याउ किनबेचको भीडभाड हुँदै आएको छ। उक्त चोकमा कर्णालीकै महिलाले भदौको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–४ बाट ल्याइएको स्याउ बिक्री गरिरहेकी कल्पना शर्माले अरू बेलाभन्दा तीजमा स्याउको बिक्री धेरै हुने गरेको बताउइन्।
फलफूल पसलमा पुग्ने जुनसुकै उपभोक्ता पनि पछिल्लो समय कर्णालीकै स्याउ किन्ने गरेको पाइएको छ। नेपालगञ्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यतिबेला कर्णालीको स्याउको माग धेरै हुने गरेको बताए। उनले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको जानकारी दिए।
कर्णाली प्रदेशका जिल्लामा उत्पादित स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ। खासगरी जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउ ठूलो मात्रामा यहाँ भित्रिएको यहाँस्थित थोक बिक्रेता प्रेमलाल साहुले बताए।
नेपालमा उत्पादित स्याउ अहिले प्रतिकिलो रु १२० देखि रु १५० सम्ममा पाइएकाले जो कोहीका लागि तीजको कोसेली बनिरहेको छ। नेपालजञ्ज लगायत आसपासका बजारमा पछिल्लो समय जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको साहुले बताए।