काठमाडौं- प्रेस काउन्सिल नेपालले अस्पतालको आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर सम्प्रेषण गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सम्प्रेषित सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन, अनुगमन गरिरहेको जनाएको हो। यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचार भएकोसमेत काउन्सिलले उल्लेख गरेको छ।
'रसुवामा आएको बाढीमा माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरी एक अस्पतालको आइसियूमा उपचाररत व्यक्तिहरूसँग अन्तर्वार्ता लिँदै 'इनसाइडर द बंकर' नामक युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ,' काउन्सिलले भनेको छ।
सुरजसिंह ठकुरीले छाउनीस्थित सैनिक अस्पतालको आइसियूमा उपचाररत सञ्जय साहको अन्तरवार्ता उक्त युट्युब च्यानलबाट सम्प्रेषण गरेपछि चौतर्फी आलोचना भएको थियो। आइसियुजस्तो संवेदनशील ठाउँमा अन्तर्वार्ता लिनु पत्रकार आचारसंहिताविपरीत भएको सरोकारवालाहरुको टिप्पणी छ। यसैगरी अन्तर्वार्ता लिन अनुमति दिने चिकित्सक र अस्पताल प्रशासनमाथिसमेत प्रश्न उठाइएको छ।
काउन्सिलले यसअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकको एक अस्पतालमा उपचाररत रहेको अवस्थामा आइसियूबाट अन्तर्वार्ता लिई बिबिसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषय पनि काउन्सिलको जानकारीमा आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।