काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अर्बौं असुलेर ठगी गरेको प्रकरणमा एकपछि अर्का उच्च पदस्थ अधिकारी प्रहरी नियन्त्रणमा परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेको एक दिनपछि बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे । काठमाडौं प्रहरीको विशेष टोलीले उनलाई पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
गम्भीर फौजदारी अपराधमा पक्राउ परेसँगै पाण्डे सचिव पदबाट निलम्बित भएका छन् । उनी नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा गृहसचिव भएका थिए । त्यसअघि उनी शिक्षा मन्त्रालयमा लामो समय काम गरेका थिए । खाणकै जोडबलले गृहसचिव भएका उनले छ महिनामै काठमाडौंको पेप्सीकोलामा छ करोड रुपैयाँको घर किनेको प्रहरीको अनुसन्धानपछि खुलेको छ ।
काठमाडौं प्रहरी परिसरका एक जना अधिकारीले प्रभावसँग भने, ‘उहाँलाई सानु भण्डारी (थुनामा रहेका)ले विभिन्न व्यक्तिबाट उठाएर पैसा बुुझाएको देखियो । भण्डारीले नै इन्द्रजित राईलाई पनि बुुझाएको देखिन्छ ।’अदालतबाट सचिव पाण्डेलाई पक्राउ गर्न प्रहरीले अनुमति भने मंगलबार पाएको थियो । त्यसपछि प्रहरी पाण्डेको खोजीमा जुटेको थियो ।
यसबारे सूचना पाण्डेले पाएका थिए । लगत्तै उनी पेप्सीकोलास्थित छ करोडमा किनेको घर छाडेर भक्तपुरको साँगास्थित आशापुरी रिसोर्ट गएका थिए । पुरानो कलेजी रङको बा ६ च ८०९१ नम्बरको कार कुदाएर गएका उनलाई रिसोर्टबाटै प्रहरीले पक्राउ गरेको हो । उनी हाल प्रहरी वृत्त सिंहदरबारको थुनामा छन् । काठमाडौं अदालतले उनीविरुद्ध अनुसन्धान गर्न तीन दिन म्याद दिएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा पाण्डेले आफ्नो मोबाइल पक्राउ पर्नुअघि नै फम्र्याट गरेका थिए । उनी २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृह मन्त्रालयका सचिव थिए । पाण्डेभन्दा अघि पक्राउ परेका द्वन्द्वविद् राईले पनि पाण्डेले जसरी ललितपुरको थेचोमा घर किन्दा ठगी गरेर प्राप्त गरेको एक करोड रुपैयाँ खर्चिएको प्रहरीको दाबी छ ।
यही प्रकरणमा प्रहरीले नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले आज (बिहीबार) काठमाडौं ल्याइने बताए । प्रहरीले टोपबहादुर, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र इन्द्रजितका छोराविरुद्ध समेत पक्राउ पुर्जी जारी गराएको छ ।
यसअघि प्रहरीले मोरङको पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी–४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ, मोरङ पथरी–१० का सागर राई र दाङका सन्देश शर्मा पोखरेललाई पक्राउ गरेको छ । आफूहरूलाई भुटानीको नाममा अमेरिका पु¥याउने लोभ देखाइ ठगी गरेको भन्दै हालसम्म प्रहरीमा १५० जनाले जाहेरी दिएका छन् ।
जाहेरीको आधारमा अनुसन्धान गरेको प्रहरीले दुलालसहितलाई १२ चैतमा पक्राउ गरेको हो । उनीहरूको बयानले पूर्वगृहसचिव पाण्डे र राई पक्राउ परेका हुन् । प्रहरीको अनुसन्धानबाट उनीहरूले ५०० जना नेपालीहरूलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर करिब एक अर्ब रुपैयाँ ठगी गरेको जनाएको दाबी गरेको छ । पूर्वगृहमन्त्री खाणको समूहलाई समेत उनीहरूले प्रभावमा पारेर गिरोहले ठगी गरेको प्रहरीको दाबी छ ।
उनीहरूले भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको थियो । उक्त प्रतिवेदन गृहकै पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो ।
कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए । गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्यसचिव थिए । सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।
‘सरसर्ती हेर्दा के देखियो भने सहसचिव पन्थी नेतृत्वको समितिले तयार गरेको प्रतिवेदन सुटुक्क हात पारेर पक्राउ परेकाहरूले त्यहाँ फाल्टै अनुसूूची थप्ने र अमेरिका पठाउँछौं भन्दै विभिन्न व्यक्तिलाई ठग्ने आधार बनाएको देखियो,’ उनले भने । ठगी प्रकरणमा अन्य पनि संलग्न देखिएको उनको भनाइ छ । तर, को–को भन्ने उनले खुुलाएनन् ।
कसूर इन्कार
नक्कली शरणार्थी बनाउने प्रकरणमा मुछिएपछि एमालेसचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ सूचीमा परेका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तर, उनले आफूू ठगीमा संलग्न नरहेको भन्दै कसूूर इन्कार गरेका छन् । गृहजिल्ला अर्घाखाँचीमा एक विद्यालयको हीरक उत्सवमा सहभागी भएपछि बुधबार पत्रकारसँग बोल्ने क्रममा उनले नक्कली शरणार्थी प्रकरणबारेमा त्यति थाहा नभएको पनि बताए ।
‘यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा मेरो कुनै किसिमको संलग्नता छैन । त्यति थाहा पनि छैन,’ रायमाझीले भनेका छन् । उनले आफू मन्त्री भएका बेला भुटानी शरणार्थी समस्या समाधानमा पहल गरेको बताए । उनले पाँच करोडभन्दा धेरै ठगी प्रकरणमा जोडिएका दुईजना व्यक्तिसँग घुम्न गएको भने स्वीकारेका छन् । तर, उनीहरूसँग कुनै साइनो नरहेको बताए ।
‘मैले दुईजना मान्छेलाई चिन्थेँ । घुम्न जाने नाममा गएका हौं,’ उनले भने, ‘ती चिनेका मान्छेहरूसँग घुम्न जाँदा फोटो खिचिएको हो ।’ उनले त्यसबेला छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको भए पनि चेक नसाटिएको बताए ।
पक्राउ पर्नुुअघि नै प्रकरणमा संलग्नता रायमाझीले अस्वीकार गर्दा इन्द्रजित राईले पनि इन्कारी गरेका छन् । उनले त आफूलाई फसाउने षड्यन्त्र भएको भन्दै आक्रोश पोखे ।
मुछिए थप तीन
ठगी प्रकरणमा पक्राउ परेका पाँच जनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र पूर्वगृहमन्त्री रामबहादुर थापाकी धर्मपत्नी नैनाकला थापाकोसमेत नाम लिएका छन् । थापा पूर्वमन्त्री हुन् । राई भने पूर्वगृहसचिव हुन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले बयानमा उनीहरूको नाम पोलेका हुन् । उनीहरूविरुद्ध भने अदालतबाट प्रहरीले पक्राउ पुुर्जी जारी गराइसकेको छैन ।
ठगी प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि संलग्न भएको आधार फेला परेको छ । उनले भने, ‘बयानमा जो–जो पोलिए, हामी उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउँछौं ।’धमाधम उच्च पदस्थ अधिकारीहरू पक्राउ परिरहेका बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।
उनले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भए पनि दोषी देखिए कारबाही गर्न निर्देशन दिएकोसमेत बताए ।‘प्रहरी प्रशासनलाई दोषी कुनै पनि घटनामा नछुटोस्, कुनै पनि निर्दोष अनावश्यक तानिने वा दुःख पाउने नहोस्,’ उनले भनेका छन्, ‘तर, दोषी देखिए कारबाही गर्नूू भनेको छुु ।’
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १०:०१