काठमाडाैं -अनावश्यक पानी खर्च नगर्न कार्यालयले उपभोक्तालाई आग्रह गरेको छ । पानी नपर्दा खोला र नदीमा पानीको मात्रा घटेकाे र मुहान सुक्न थालेकाले नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले सूचना जारी गरी अनावश्यक पानी खर्च नगर्न उपभोक्तालाई आग्रह गरेको हाे ।
पोखरा र आसपासका क्षेत्रमा पानी नपर्दा खोला र नदीमा पानीको मात्रा घटेको छ । मुहान सुक्न थालेका छन् । पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत मर्दीखोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानीको समस्या भएको छ ।
नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्याउन गाह्रो परेको सूचना नै निकालेको छ । पोखरा महानगरभित्र कतिपय ठाउँमा पानी वितरणमा समस्या आएको सूचनामा उल्लेख छ ।पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सब–इञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिए ।
पोखरामा पानीका लागि मर्दीखोला मुख्य स्रोत र त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा नै पानी घटेका कारण समस्या भएको उनको भनाइ छ । खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारी राजेश थापाले बताए ।
घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको उनले बताए । अहिले पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिए । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानबाट झण्डै ४८ हजार धारा जडान भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १२:१५