
काठमाडौं – धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर रु सात अर्ब ३९ करोड १७ लाख दुई हजार ५१० मूल्यमा खरिद बिक्री भए । बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो ।
उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेर नेप्से परिसूचक २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुग्यो । नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघ्यो । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिद बिक्री भए । सोमबार नेप्से परिसूचक वृद्धि भयो । त्यसदिन नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुग्यो । मंगलबार नेप्से परिसूचक १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झर्याे । नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको थियो ।
बुधबार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । परिसूचक वृद्धि भए पनि कारोवार रकम एक अर्बमै सीमित भएको थियो । यस्तै बिहीबार भने शेयर बजार पुनःओरालो लाग्यो । नेप्से ८.६७ विन्दुले घटेर एक हजार ३३३.६९ मा झर्याे । कूल १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता शेयर रु एक अर्ब चार करोड ९३ लाख ४५ हजार ४३६ मूल्यमा खरिद बिक्री भए ।