
काठमाडौं, (प्रस)– नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रूपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रूपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रूपैयाँ कायम भएको छ । यता अन्तर्रािष्ट्रय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको छ । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।
मूल्य समायोजनपश्चात भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रूपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रूपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।