

हेटौंडा– वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सरकारले जनताको आर्थिक समृद्धिसँग केन्द्रीत योजना ल्याउनुपर्ने बताएका छन् । वाग्मती प्रदेशसभाको दोस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख प्रसाईले भने, ‘जनताको आर्थिक समृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार अग्रसर हुनुपर्दछ ।’
प्रदेश प्रमुख प्रसाईंले जनपक्षीय ऐन कानूनको तर्जुमा गरी भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि जिम्मेवार भएर कार्य गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रको अर्थतन्त्रलाई दिगो र प्रभावकारी तुल्याउन प्रदेश सरकारले हेटौँडा–काठमाडौं जोड्ने सुरुङ मार्गको निर्माणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको छनोट गरिएको र गुणस्तरीय शिक्षाको प्राविधिक संरचनालाई सदृढ तुल्याउन योजना तथा बजेटसमेत वितरण गरिसकेकाले अब ती क्षेत्रमा अनुगमन गर्न टोली खटाइने बताए ।
सरकारले आवश्यक ऐनकानूनको तर्जुमा गरी प्रदेशमा अहिले नीति योजना आयोग र लोक सेवा आयोगको संस्था गठन भएर कार्य सम्पादन भइरहेको बताउँदै उनले संघीय सरकारसँग समन्वय गरेर प्रदेशमा प्रहरी ऐनको तर्जुमा गर्ने र निजामती कर्मचारीहरूको थप दरबन्दी उपलब्ध गराउन सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।
वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जनताको शान्ति–सुरक्षा, मौलिक हकको संवद्र्धन र आर्थिक समृद्धि तुल्याउने ऐन कानूनको तर्जुमा भएकाले अब जनतालाई आवश्यक सेवा–सुविधा उलब्ध गराई विकास निर्माणमा लाग्न प्रदेश सरकारलाई आग्रह गरे ।
कार्यक्रममा वाग्मती प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको विकास र समृद्धिका लागि हेटौँडा–कुलेखानी–काठमाडौं जोड्ने सडक सञ्जालको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिए । सो अवसरमा प्रदेश प्रमुख प्रसाईंले प्रदेशसभाको पहिलो–दोस्रो बैठकमा नियमित उपस्थित हुने प्रदेशसभा सदस्य देवकी श्रेष्ठ, मैना अच्छामी र सरस्वती बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।