

काठमाडौं — कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण आगामी फागुनको २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । यस संस्करणको टाइटल स्पोन्सर प्रभु पे रहेको छ । प्रदर्शनीका ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताएका छन् । क्यान इन्फोटेक–२०२० को एशोसिएट स्पोन्सरमा वल्र्डलिंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् भने डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन्स रहेको छ । त्यसैगरी, स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् भने जेनेस सोल्युशन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् ।
ब्रेन डिजिट आईटी सोल्युशन क्यान इन्फोटेक २०२० को डिजिटल पार्टनर रहेको छ । त्यसैगरी क्रियटिभ पार्टनरमा आरआर श्री स्कुल अफ टेक्नोलोजी, गेमिङ्ग पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च, अफिसियल इन्सुरेन्समा प्रभु इन्सुरेन्स, रिसर्च पार्टनर सी.यस.आर, अफिसियल ट्राभल पार्टनर बिएन होलिडेज रहेको छ ।
प्रदर्शनीलाई सफल वनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिष्ट्रिब्युटर्स एशोसिएशन, एशोसियसन अफ इन्जिनियरिङ्ग कलेजले सहयोग गरेका छन् । त्यसैगरि अन्तराष्ट्रिय संस्था असोसियो र विट्सा को पनि यसको आयोजनामा सहयोग रहेको छ ।
रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचनाप्रविधि मेलाको विशेष आकर्षण रहने छ । यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रूपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् । दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै विजेताहरूले प्रमाणपत्र सहित रु. १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने छन् ।
क्यान इन्फोटेकको यो संस्करणको प्रबेश शुल्क रु १०० राखिएको छ, बिद्यार्थीहरूले ५० प्रतिशत छुट पाउने छन् भने, सामुदायिक तथा सरकारी विद्यालय र कलेजका विद्यार्थीहरू, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरूले निःशुल्क प्रवेश पाउन सक्नेछन् । यसैगरी फागुन ५ गतेलाई ‘बिजनेस डे’ तोकिएको छ । क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यसले प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिहरूले इन्फोटेक प्रवेशमा लाग्ने समयको वचत गर्न सकिने जनाइयो ।
यो वर्ष क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिने कार्यक्रम अनुसार प्रदेश १ को इटहरी र प्रदेश २ को वीरगञ्जमा क्यान इन्फोटेक सफलतापूर्वक सम्पन्न भैसकेको छ भने माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म वाग्मति प्रदेशको चितवनमा, फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा, फाल्गुन २० देखि २४ गतेसम्म प्रदेश ५ को नेपालगंजमा, फागुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगढिमा र चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने अध्यक्ष कुँवरले जानकारी दिए ।