

काठमाडौं – उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्माण व्यवसायीको रचनात्मक सहयोगबिना समृद्घ मुलुक बनाउन नसकिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले व्यवसायीका समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता जनाए ।
महासंघको २१ आँै साधारणसभाको भक्तपुर घोषणा पत्र बुझ्दै उप–प्रधानमन्त्री पोखरेलले व्यवसायीका मागका विषयमा मन्त्रीपरिषदमा छलफल गरिने जानकारी दिए । भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले २१ औँ साधारणसभाबाट पारित भएको ३१ बुँदे घोषणा पत्र तथा निर्माण व्यवसायीको वर्तमान समस्याका बारेमा जानकारी गराएको थियो । घोषणा पत्रमा रहेको सार्वजनिक खरिद ऐन २०६३ को दफा १० (५) लाई संशोधन गरी रु. दुई करोडको सट्टा रु. पाँच करोड सम्मको निर्माण खरिदमा कुनैपनि योग्यता नराखी जुनसुकै निर्माण व्यवसायीले भाग लिन पाउनु पर्ने व्यवस्था गर्न महासंघले माग गरेको छ ।
रु दुई करोडभन्दा माथि रु पाँच करोडसम्मको निर्माणका लागि पाँच वर्ष पुरानो र सम्बन्धित जिल्लाका कम्पनीले मात्र भाग लिन पाउने गरी बढीमा तीन वटा प्याकेजसम्मको निर्माण गर्न मिल्ने व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको थियो । छोटोसमयमा विभिन्न उपकरणहरूमा आगलागी गरिएको विषयलाई मध्यनजर गर्दै सरकारले उपकरणको सुरुक्षा गरिदिनु पर्ने बताए । महासंघ अध्यक्ष सिंहले भने, ‘विगत ३–४ महिनाको अवधिमा व्यवसायीका करीब रु २० करोड भन्दा बढीको उपकरणमा आगजनी गरिएको छ ।’
प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासंघका मानार्थ सदस्य सांसद जीपछिरिङ लामा, सल्लाहकार जयराम लामिछाने, उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, उप–महासचिव टंकप्रसाद चौलागाई, केन्द्रीय सदस्य उज्वल गौतम, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता थियो ।