
सिराहा— सिरहा र सप्तरीका होटल तथा रेष्टुराँको खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, न्यायिक उपभोक्ता मञ्चलगायतका कार्यालय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको रोहवरमा स्टिकर टाँस्ने अभियान थालिएको हो ।
राजविराजस्थित १७ वटा होटल र रेष्टुराँको अनुगमनपश्चात् स्तरीकरणको स्टिकर टाँस गरिएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । ती होटल र रेष्टुराँका सञ्चालकलाई खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालिमसमेत प्रदान गरिएको थियो । विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकोमा ९० भन्दा बढी अंक ल्याउने होटल र रेष्टुराँलाई अति उत्तम तथा ८० देखि ९० सम्म अंक ल्याउनेलाई उत्तम श्रेणीमा राखी स्टिकर टाँसिएको छ । त्यस्तै ६५ देखि ७९ सम्म लाई सन्तोषजनक र ५० देखि ६४ सम्म अंक ल्याउने होटल रेष्टुराँमा सामान्य लेखिएको स्टिकर टाँस गरिएको छ । सामान्य स्टिकर पाएकाले छ महिनामा गुणस्तर सुधार गर्नुपर्ने अन्यथा लोगो खारेज गर्दै कारवाही गरिने प्रमुख सिंहले बताए ।