

काठमाडौं– सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ७८औँ भन्सार दिवसका अवसरमा राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी हुने क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताएका हुन् । त्यस्तै उनले आगामी दुई वर्षभित्रै नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने र कुनै कागजी काम नहुने बनाउने योजनामा सरकार लागेको जानकारी दिए ।
मन्त्री खतिवडाले सरकार नियमसंगत तरिकाले नै अगाडि बढ्ने र कोही कसैलाई पनि दुःख दिने पक्षमा नरहेको स्पष्ट पारे । राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै उहाँले कोही कसैलाई दुःख दिने भन्दा सरकारले नीतिनियम र कानूनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने बताए । सरकार भन्सार राजश्वभन्दा पनि आन्तरिक राजश्व उठाउनेतर्फ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो आन्तरिक राजश्व उठ्ने क्रम राम्रो छ, अन्तःशुल्क, भ्याट र आयकरको सङ्कलन राम्रो छ ।’ मन्त्री खतिवडाले व्यवसायीलाई विकृति हटाउन र सामानको गुणस्तरमा समेत ध्यान दिन आग्रह गर्दै तत्काल नै भन्सारको महसुल दर घटाउन नसकिने उल्लेख गरे ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिएको र त्यसले राजश्व संकलनदेखि व्यावहारिक समस्यासमेत समाधान भएको बताए ।
भन्सारलाई आधुनिकीकरणका लागि नीतिगत सुधारको प्रक्रिया पनि सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उनले प्राविधिक, संरचनागत एवम् कानूनी सुधारले व्यावसायिक क्षेत्रलाई थप सहज हुने धारणा राखे । हरेक वर्ष जनवरी २६ लाई विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवसका रूपमा मनाउने गरिएको छ । विभागले कूल राजश्वको करीब ५० प्रतिशत राजश्व संकलन गर्दै आएको तथ्यांक छ ।
कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक संघ संस्थाका प्रतिनिधिले भन्सार प्रशासन सुधारोन्मुख रहे पनि त्यसको अनुभूति गर्न नपाएको गुनासो गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले भन्सार प्रशासनमा उल्लेख्य मात्रामा सुधार गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भन्सारमा सामानहरूको वर्गीकरण र मूल्यांकनमा समस्या रहेको गुनासो गरिन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष शतीशकुमार मोरले ‘बल्क’ कार्गो आयातमा देखिएको समस्या निराकरण गर्न आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई व्यवसायीमैत्री बनाउन र कारोवार बैंकिङ प्रणालीमा हुने वातावरण बनाउन सुझाव दिए ।