
वीरगञ्ज– भारत तथा तेस्रो मुलुकबाट आउने विलासी गाडीहरूको आयातमा कमी आएको वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय (ड्राइपोर्ट) ले जनाएको छ । जसका कारण भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा लक्ष्य भेट्टाउन चुनौती थपिएको छ ।
कार्यालयले चुनौतीको सामना गरिरहेको बेला भन्सार विभागले बर्षेनी राजश्व संकलन गर्न वार्षिक लक्ष्य बढाउँदै लगेको छ । चालू आर्थिक वर्ष २०७६÷०७७ को पुस मसान्तसम्म कार्यालयले रु २१ अर्ब ८८ करोड पाँच लाख चार हजार राजश्व संकलन गर्ने लक्ष्य पाएको तर उक्त अवधिमा लक्ष्यको तुलनामा सडक संभार दस्तुरसहित ८९ दशमलव ५५ प्रतिशत अर्थात रु १९ अर्ब ३९ करोड ५१ लाख ३३ हजार मात्र राजश्व सङ्कलन गर्न सकेको कार्यालयका सूचना अधिकारी जगदीशकुमार पुर्वेले बताए ।
गत आवको पुस मसान्तभन्दा चालु आवको सो अवधिमा उक्त कार्यालयलाई ३३ प्रतिशत राजश्व उठाउने लक्ष्य थपिए पनि महँगा तथा विलासी गाडी आयातमा कमी आएको, बैंक तथा वित्तीय संस्थाले गाडी खरिदमा ५० प्रतिशत मात्र लगानी गर्ने गरेको तथा तेस्रो मुलुकबाट आउने गाडीको आयातमा कमी आएकाले वार्षिक लक्ष्य भेट्टाउन चुनौती थपिएको कार्यालय प्रमुख उमेश श्रेष्ठले बताए ।
पाम आयलको निकासीले १५ प्रतिशत राजश्व थपिन्थ्यो तर भारत सरकारले पाम आयल, इनर्जी ड्रिङ्क लगायतका सामानको निकासीमा रोक लगाएपछि वार्षिक लक्ष्य प्राप्त गर्न समस्या हुने सुचना अधिकारी पुर्वेको भनाइ छ । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालू आवका लागि राजश्व उठाउने वार्षिक लक्ष्य रु ४१ अर्ब ८८ करोड पाँच लाख चार हजार दिएको छ । सो अन्तर्गत भन्सारतर्फ रु १९ अर्ब २२ करोड ९० लाख ४८ हजार, मुल्य अभिवृद्धि करतर्फ रु १९ अर्ब ४० करोड छ लाख २६ हजार तथा अन्तःशुल्कतर्फ रु तीन अर्ब २५ करोड आठ लाख २९ हजार राजश्व उठाउनु पर्नेछ ।