

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र दक्षिण एसियामा सबैभन्दा सुदृढ प्रणालीको रूपमा रहेको पनि बताए । मंगलबार राजधानीमा सम्पन्न एक कार्यक्रममा मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको पनि बताएका छन् ।
कृषि विकास बैंक लिमिटेडको ५३औं वार्षिकोत्सवलाई उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गरे । उनले भने, ‘अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।’ उनले भने, ‘नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रूपमा स्थापित रहेको छ ।’
विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो ? भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा. खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रहेको जनाए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गरोस् भने । बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताए ।
पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रूपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिए ।
बैकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिए । बैंकको एक लाख ४२ हजार ऋणीमध्ये उत्कृष्ट कारोवार गर्ने, बैंकमा लामो समय सेवा गरेका र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । समारोहमा ‘बैंक समाचार’ विशेषाङ्कको विमोचन गरिएको थियो ।