

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने उद्देश्यले नेपाल राष्ट्रिय फोटो पत्रकार समूहले तयार गरेको ‘नेपाल दर्शन’ नामक फोटो पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकको सार्वजनिक गर्ने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले नेपाल पर्यटकका लागि पूर्ण सुरक्षित रहेको कुरा बताए ।
उक्त अवसरमा मन्त्री भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । उनले पर्यटकलाई कुनै आपतविपदमा सरकार जुनसुकै बेला पनि उद्धार गर्ने बताए । उनले पर्यटकलाई समस्यामा पर्दा सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिने बताए । यसैक्रममा उनले अन्नपूर्ण पदमार्गमा रहेका करीव दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताए ।
उनले नेपाल भ्रमण बर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार बर्षको रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राखे । उनले पुस्तकमा समावेश फोटोले नेपाल चिनाएको भन्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताए ।
राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा सोमबार पर्यटनमन्त्री योगेश भट्टराईले सार्वजनिक गरेको फोटो पुस्तकमा नेपालका सातै प्रदेशका पर्यटकीय स्थलहरूको फोटो समावेश गरिएको जनाइएको छ । कार्यक्रममा नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका सदस्य– सचिव बच्चुनारायण श्रेष्ठले पुस्तकमा नेपालका सबै भाषा, धर्म, संस्कृति, पर्यटन गन्तव्य उल्लेख गरिएकाले पर्यटकलाई नेपाल बुझ्न सजिलो हुने बताए । उनले पुस्तकले भ्रमण वर्षको प्रचारप्रसारमा समेत सहयोगी भूमिका खेल्ने जानकारी गराए ।
समूहका अध्यक्ष राजेन्द्र चित्रकारले सरकारले घोषणा गरेको भ्रमण वर्षको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले फोटो पुस्तक निकालिएको बताए । कार्यक्रममा मन्त्री भट्टराईले सांस्कृतिक तथा पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितमा कपिलवस्तुका मनोज पौडेलले प्रथम स्थान हासिल गरी रु २५ हजार राशिको पुस्कार पाएका थिए ।
त्यस्तै मुगुका कविराज कार्की द्वितीय भई नगद रु २० हजार र सुनिल शर्माले तृतीय भई नगद रु १५ हजारसहित पुरस्कार पाएका थिए । प्रदेश नं– १ बाट भवानी शिलाकार, प्रदेश नं २ बाट सुशील श्रेष्ठ, बागमती प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कँडेल, प्रदेश नं ५ बाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्टले नगद १० हजार रूपैयाँसहित प्रदेशस्तरीय उत्कृष्ट फोटो पाएका थिए ।